
काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले राष्ट्रिय सुरक्षाको विषय कुनै दल र गुटविशेषको विषय बन्न नहुने बताएका छन्।
रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषद्ले आयोजना गरेको राष्ट्रिय सुरक्षा गोष्ठीमा उनले राष्ट्रिय सुरक्षाको विषयमा र राष्ट्रिय सुरक्षा नीति तय गर्दा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। सुरक्षाको विषय गतिशील हुने भएकाले अवस्था र परिस्थितिअनुसार सुरक्षा नीति तय हुनुपर्ने उनको भनाइ थियो।
'सरकार बनेको एक वर्ष बित्न नपाउँदै अर्को सरकार परिवर्तन भइरहने हो भने राष्ट्रिय सुरक्षा कमजोर बन्छ,' उनले भने, 'लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नै उपयुक्त हुन्छ।' आन्तरिक राष्ट्रिय एकताका लागि देशभित्रका सबै जातिहरुको बीचमा एकता आवश्यक हुने उनले बताए।
'बाह्य रुपमा छिमेकीहरुसँग न त झुक्ने न त चिढ्याउने नीति लिनुपर्छ,' उनले भने, 'भूराजनीतिक परिस्थितिलाई पनि ख्याल राख्नुपर्ने हुन्छ।'
आर्थिक पाटो पनि राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै उनले तीव्र आर्थिक विकासको बाटोमा अघि बढ्नुपर्ने र अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय सुरक्षा मजबुत बनाउनका सुरक्षा निकायहरुको पनि पुन:संरचना आवश्यक भएको भन्दै भट्टराईले सुरक्षा निकायहरुको पुन:संरचना गरेर वैज्ञानिकीकरण र आधुनिकीकरण गरे मात्रै सुरक्षा खतराको सामना गर्न सकिने भनाइ राखे।