
काठमाडौं : फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरियतामा नेपाल ६ स्थान तल झरेको छ। ६ स्थान झरेसँगै नेपाल १८८ औं स्थानमा पुगेको छ। विश्व वरियतामा भने अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ।
नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा पाँचौ स्थानमा छ। ६ स्थान सुधार गर्दै अफगानिस्तान १५० औं स्थानमा उक्लेको छ। भने भारत ११ स्थान सुधार गर्दै १५२ औं स्थानमा पुगेको छ। यस्तै माल्दिभ्स १७४ औं स्थानमा कायम छ भने २ स्थान तल झरेको बंगलादेश १८३ औं स्थानमा पुगेको छ।
भुटान १९२ औं, श्रीलंका १९३ औं र पाकिस्तान १९४ औं स्थानमा छन्।
यता कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग हारे पनि अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ। अर्जेन्टिना सहित शीर्ष पाँचमा कुनै परिवर्तन भएको छैन। युरोकपको क्वाटरफाइनलबाटै बाहिरिएको बेल्जियम दोस्रो, कोलम्विया तेस्रो, जर्मनी चौथो र चिली पाँचौ स्थानमा छन्।
युरो च्याम्पियन पोर्चुगल २ स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लेको छ भने युरोको फाइनलमा पुगेको फ्रान्स १० स्थान सुधार गर्दै सातौं स्थानमा पुगेको छ। समान दुई स्थान तल झरेको स्पेन र ब्राजिल क्रमश: आठौं र नवौं स्थानमा छन्।
दुई स्थान सुधार गर्दै इटली दसौं स्थानमा उक्लेको छ भने पहिलो सहभागितामै युरोको सेमिफाइनलमा पुगेको वेल्स १५ स्थान सुधार गर्दै ११ औं स्थानमा पुगेको छ।
इंगल्याण्ड र अष्ट्रिया भने शीर्ष १० बाट बाहिरिएका छन्। यस्तै युरोको पहिलो सहभागिता इंगल्याण्डलाई हराउँदै क्वाटरफाइनसम्म पुगेको आइसल्याण्ड १२ स्थान सुधार गर्दै २२ औं स्थानमा पुगेको छ।