काठमाडौँ : नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रले अन्तर्राष्ट्रिय शक्तिको दबाबमा आएर सरकार छाड्ने निर्णय गरेको बताएका छन्।
एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकमा डेढ घण्टा पछिल्लो राजनीतिक अवस्थाबारे बोल्दै ओलीले प्रचण्डले गम्भीर बेइमानी गरेको र धोका दिएको आरोपसमेत लगाए।
‘प्रचण्डजी मसँग संवाद हुँदा गठबन्धन जोगाउनका लागि मोडालिटी तय गर्ने सहमति बनाएर जानुभएको थियो। भोलिपल्ट १२ बजे मलाई उहाँले सरकारमा सहभागी हुँदैनौँ भन्ने जानकारी दिनुभयो’, बैठकमा ओलीले बोलेका विषयमा एक एमाले सांसदले भने।
‘हामीले आठ वटा मन्त्रालय दियौँ। गृह र आपूर्तिजस्ता मन्त्रालय माओवादीसँग भयो। शान्ति सुरक्षा र आपूर्ति सहज नहुदाँ गालीगलौज, सत्तोसराप एमालेले सहनु पर्यो्’, ओलीले बैठकमा भने।
प्रधानमन्त्री ओलीले राजीनामा नदिने भन्दै संसद फेस गर्ने सांसदहरुलाई बताएका थिए।
‘फ्री खेलमा जान हामी पनि तयार छौँ। संविधानमा भएको व्यवस्था बमोजिम म अघि बढ्छु कसैको करकाप वा धम्कीले राजीनामा दिने भन्ने कुरा हुँदैन। म बकाइदा संसद फेस गर्छु’, ओलीले भनेका थिए।
उनले संसदमा बजेट सम्बन्धी आश्रित विधेयक रोकिएकोमा सभामुख ओनसरी घर्तीसँग कुरा गर्ने बताए।
‘विधेयक किन रोकियो? संसद किन स्थगित भयो? त्यसबारे सभामुखसँग जवाफ माग्छु’, उनले भने।
साथै विधेयक रोकिँदैमा मुलुक ठप्प नहुनेसमेत तर्क उनले गरे। ‘तर यो विधेयक रोक्ने प्रयास भए, त्यो षड्यन्त्र भए म अघि बढ्छु’, बैठकमा ओलीले भने। एमाले सांसदका अनुसार ओलीले संसद अधिवेशन अन्त्य गर्ने इङ्गित गरेका हुन्।
संसदीय दलको बैठकमा ओलीले कसैको सुझाव समेत नलिएको र आफ्नो धारणा मात्र राखेको एमाले सांसदले बताए।
‘डेढ घण्टा बोल्दा विदेशीको षड्यन्त्र भएको पटक-पटक बताउनु भयो’, ती सांसदले भने।