
काठमाडौं : दिल्लीस्थित नेपाली दूतावासमा कुटनीतिक विशिष्ट कर्मचारीमाझ आन्तरिक कलह चर्किएपछि र सार्वजनिक रुपमा थाहा हुने गरी सतहमा विवाद बढेपछि परराष्ट्र मन्त्रालयले स्थितिको बुझबुझारथ गर्न सहसचिवस्तरको वरिष्ठ पदाधिकारीलाई दिल्ली पठाएको छ।
दूतावासका कुटनीतिक कर्मचारीहरुको बेमेल स्थितिबारे स्थलगत अध्यन गर्न मन्त्रालयले सहसचिव एवं पाकिस्तानका लागि प्रस्तावित राजदूत सेवा लम्साल अधिकारीलाई मंगलबार दिल्ली पठाएको हो। एक वर्षअघि नेपालमा आएको भूकम्पमा सहयोगस्वरुप आएको दैनिक उपभोग्य वस्तु एवं ब्ल्यांकेट, तारपोलिन आदि अझै पनि दूतावासमा जगेडा रहेकोबारे त्यो सामान नेपाल पठाउने थालिएको प्रकृयामा विवाद बढेर वरिष्ठ कर्मचारीहरुबीच चर्काचर्की भएको थियो दूतावासस्थित स्रोतका अनुसार झण्डै १ टन बराबरको राहत सहयोग सामग्री अझै थन्किएर बसेको छ।
‘काठमाडौंमा गृह तथा अर्थ मन्त्रालयसँग समन्वय गरेर भन्सार मिनाहासहित उक्त राहत सामग्री नेपाल पठाउन उपसचिव तहमा रहने काउन्सेलर हरि ओडारीले गरेको पहललाई कार्यवाहक राजदूत कृष्णप्रसाद ढकालले अस्वीकार गरेपछि विवाद बढेको दूतावासका एक अधिकारीले बताए।
‘गत शुक्रबार बढेको विवादले झगडाको रुप लिएपछि परराष्ट्रले घटना बुझ्न सहसचिव तहमा कर्मचारी दिल्ली पठाएको हो,’ दिल्ली नियोगबाट हालै काठमाडौं फिरेका परराष्ट्रका एक कनिष्ठ अधिकारीले भने। गत शुक्रबारको काण्डपछि दिल्लीमा रहेका कार्यवाहक राजदूत ढकालले ‘आफ्नो सुरक्षाका निम्ति उचित प्रबन्ध गरिदिन’ भन्दै परराष्ट्रमा पत्र पठाएपछि स्थिति बढी जटिल बनेको थियो।
दिल्ली पुगेकी सहसचिव अधिकारीले दूतावासमा रहेका काउन्सेलर हरि ओडारी (राजनीतिक), काउन्सेलर उमाकान्त आचार्य (आर्थिक), द्वितीय सचिव गणेश अधिकारी, सुरक्षा मामला हेर्ने काउन्सेलर एसएसपी यादव खनालसहितसँग सोधपूछ गर्दै घटनाक्रमबारे जानकारी लिइरहेकी छिन्।
दिल्लीमा कार्यरत राजदूत दीपकुमार उपाध्यायलाई ओली सरकारले २ महिनाअघि फिर्ता बोलाएपछि सहसचिव कृष्णप्रसाद ढकालले कार्यवाहक जिम्मेवारी निर्वाह गर्दै आएका छन्। तर, कर्मचारीबीच कार्यगत एकता र समन्वय जुटाउन नसकेको भन्दै ढकालको निर्णय क्षमतामाथि परराष्ट्रले स्पष्टीकरण लिइसकेको छ।
भर्खरै काज सेवाबाट दिल्ली पोष्टिङमा गएका उपसचिव ओडारीले ‘दूतावासमा कार्यवाहक हैसियतमा ढकाल रहिन्जेल काम गर्न नसकिने’ भनेर आफूलाई परराष्ट्रमा फिर्ता बोलाउन परराष्ट्र सचिव शंकर बैरागीलाई आग्रह गरिसकेको एक अधिकारीले बताए।
अख्तियार प्रवक्ता 'इकोनमिक मिनिस्टर' बन्दै
यसैबीच, परराष्ट्रले दिल्ली नियोगमा रिक्त रहेका द्वितीय र तृतीय तहका दुई कर्मचारीको छ महिनायता पदपूर्ति गर्न सकेको छैन। स्रोतका अनुसार, परराष्ट्र सचिव शंकर वैरागीले पदपूर्तिका लागि निर्णय गरिसकेको अवस्थामा कर्मचारीले अटेर गरेको अथवा दिल्लीभन्दा राम्रो पोष्टिङ खोजेर बसिरहेको अवस्था छ।
दुई महिनायता खाली रहेको सहसचिव तहको इकोनमिक–मिनिस्टर पदमा हाल अख्तियारमा कार्यरत सहसचिव कृष्णहरि पुष्करलाई नियुक्त गर्ने तयारी सुरु भएको परराष्ट्रका एक अधिकारीले बताए। अख्तियार प्रमुख लोकमानसिंह कार्कीसहितको पहलमा पुष्करलाई इकोनमिक–मिनिष्टर पदमा पठाउन लागिएको ती अधिकारीले बताए।