
काठमाडौं : करोडौं ऋणमा डुबेको साझा प्रकाशनले सरकारबाट सहयोग नपाएको भन्दै आफ्नो चलअचल सम्पत्ति बिक्री गर्ने भएको छ।
संस्थालाई चालू अवस्थामा ४० करोड आवश्यक पर्ने र सो रकम जुटाउन सरकारसँग पटकपटक आग्रह गरे पनि बेवास्ता गरिएकाले यस्तो निर्णय लिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए। 'पछिल्लो समय असार ८ गते प्रधानमन्त्रीलाई पत्रमार्फत संस्थाको अवस्थाबारे अवगत गराइएको थियो,' शर्माले भने, 'तर कुनै ठोस काम हुन नसकेकाले कठोर निर्णय लिएका हौं।'
संस्थाले आर्थिक भार घटाउन २० वर्ष सेवा अवधि पूरा गरेका ९४ जनालाई साउन १ गतेबाट अवकाश दिने भएको छ। साथै, स्वेच्छिक अवकाश लिने समेतलाई विशेष सुविधासहित सो लागू गर्ने तयारी गरिएको शर्माको भनाइ छ।
पुल्चोकस्थित केन्द्रीय कार्यालयको जग्गा राष्ट्रिय सहकारी बैंकको धितोमा रहेको र सो बापतको ऋण बुझाउनुपर्ने अन्तिम समय आएकाले संस्थाले अन्य ठाउँको जग्गा बिक्रीको निर्णय लिएको हो। बैंकलाई साँवा ब्याज गरी हाल करिब ७ करोड रुपैयाँ बुझाउनुपर्ने दायित्व रहेको शर्माले जानकारी दिए।
पुल्चोकबाहेक महेन्द्रनगर, धनगढी, नेपालगन्ज, सुर्खेत, चितवन, वीरगन्ज, राजविराज र धरानमा साझाको चलअचल सम्पत्ति रहेको छ।