काठमाडौँ : 'लभ र हेट बीच एउटा पातलो लाइनमात्र हुन्छ। ब्रेनको जुन नर्भस सर्किट घृणा उत्पन्न गराउन जिम्मेवार हुन्छ, त्यसैले प्रेम पनि उत्पन्न गराउँछ,' लन्डनका प्रोफेसर सेमिर जेकीले अनुसन्धानबाट पुष्टि गरेको यो तथ्य प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको सम्बन्धमा पनि देखिन्छ।
यी दुबैबीचको सम्बन्ध कहिले सुमधुर देखिन्छ र कहिले एकाएक टकरावमा पुग्छ भन्नै सकिन्न।
संविधान बनाउन सहमति जुट्नुअघि यी दुई नेताको सम्बन्ध कटुतापूर्ण थियो भने गत वर्षको जेठ २५ गतेपछि सुमधुर बनेर अगाडि बढ्यो। प्रचण्डकै प्रस्तावमा ओली प्रधानमन्त्री बने। तर आफैँले प्रस्ताव गरेर प्रधानमन्त्री बनाएका ओलीलाई प्रचण्डले अहिले अविश्वासको प्रस्तावद्वारा हटाउन चाहेका छन्। अनि आफैँ कुर्सीमा बस्ने तयारीमा छन्।
शब्द-वाण शृंखला
पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा उदायो तत्कालीन नेकपा माओवादी। नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालमात्र हैन, केपी ओलीले पनि आफ्नो निर्वाचन क्षेत्रमा हार बेहोरे, अनि एमाले बन्न पुग्यो तेश्रो दल। ओलीले त्यतिबेला माओवादीले धाँधली गरेर जितेको र माओवादी मोटाएको हैन सुन्निएको प्रतिक्रिया दिए।माओवादीविरुद्ध टकराव लिने नेताको रुपमा ओलीको राष्ट्रिय राजनीतिमा प्रभावशाली उदय भयो, जसका कारण एमालेले दोश्रो संविधानसभामा आफ्नो साख फिर्ता पायो। अनि त्यसकै बलमा ओली एमाले संसदीय दलको नेता, अध्यक्ष हुँदै प्रधानमन्त्री पदमा आसिन भए।
प्रचण्ड र केपी ओलीबीचको दूरी यतिसम्म बढेको थियो कि एक अर्काको कार्यक्रममा समेत सहभागी नहुने अवस्था बनेको थियो। माओवादीसँगको सम्बन्धको दूरी बढ्दै जाँदा एमाले अध्यक्ष केपी ओली नेपाल संवतको नयाँ वर्षको अवसरमा माओवादीले आयोजना गरेको चियापानमा सहभागी भएनन्। प्रचण्डले ओलीको अनुपस्थितिले खल्लो महसुस भएको प्रतिक्रिया नै दिए।
२०७१ को माघमा माओवादी र मधेसी मोर्चा आन्दोलनमा थिए। ओलीले माओवादीलाई निशाना साँध्दै भने - १० अर्ब रुपैयाँ दिने हो भने एमाओवादीसहितका मोर्चाको आन्दोलन स्थगित हुन्छ।
जवाफमा माओवादी नेतृत्वको मोर्चाको निर्णयमा ओलीको मानसिक असन्तुलनको उपचार माग गर्यो।
संविधान निर्माणका बेला यो आरोप श्रृङ्खला यहीँ रोकिएन। प्रचण्डमाथि ओली भारी बन्दै गए। २०६९ साल असार १ गते माओवादीले खुल्लामञ्चमा गरेको आमसभामा प्रचण्डले 'अरुले गाएको र माओवादीले सुसेलेको' भन्दै कांग्रेस र एमालेलाई ब्यङ्ग्य गरेका थिए। तर दोश्रो संविधानसभापछि ओली गाउने र प्रचण्ड सुसेल्ने अवस्थामा पुगे।
बालुवाटारको एउटा बैठकमा ओलीले माओवादी नेताहरुले संविधान बनाउन नचाहेको र जातीय मुद्दाको आधारमा देशलाई रुवान्डा बनाउन खोजेको आरोप लगाए। प्रचण्डसहितका नेताहरुले ओलीको टिप्पणी पछि बैठक नै छाडे।
प्रचण्डले भोलिपल्ट संसद पुगेर ओलीले आफूलाई राजा र अरुलाई रैती ठानेको आरोप लगाए।
ओलीले सोही दिन सर्लाही पुगेर जवाफ फर्काए - हामी त सहमतिकै पक्षमा छौँ र त्यसअनुसार नै अगाडि बढिरहेका छौँ, तर कमिलाले टोक्यो कि के हो, एमाओवादी अध्यक्ष त बुरुक्क उफ्रन थाल्नुभयो।'
त्यसो त ओलीले पनि माओवादीमाथि व्यङ्ग्यको श्रृङ्खला नै चलाए। माओवादीले संसदमा गरेको तोडफोडलाई लिएर ओलीले माक: फुँइ (बाँदरको फूर्ति) भनिदिए।
‘कुनै रुखमाथि बाँदर चढ्यो भने हाँगो हल्लिनु त स्वभाविकै हो। संविधान सभामा कस्ता कस्ता शक्ति आएका छन्। तिनीहरु आएपछि हल्लिँदैन? यिनले समस्या खडा गर्दैनन्? गरिहाल्छ। तर रुखै भाँच्चिने होइन हाँगो हल्लिनेसम्म हो। नेवार भाषामा एउटा शब्द छ। धेरै नचाहिने कुरा गर्यो भने 'माकः फूँइ' भन्छ। कुनै 'माकः फूँइ'सँग एमाले डराउनेवाला छैन।'
तर जेठ २५ गते संविधान जारी गर्नु अघि बालुवाटारमा भएको सहमतिपछि दुई नेताबीचको दूरी घट्दै गयो। अनि संविधान निर्माण गरिछाड्ने अठोटमा सम्बन्ध बढ्दै गयो।
जेठ २७ मा प्रचण्डले बिबिसी नेपालीसँगको अन्तर्वातामा प्रचण्डले राजनीतिमा सम्बन्धहरु बन्ने र भत्कने भइरहने भन्दै ओलीलाई प्रधानमन्त्री स्वीकार गर्न तयार भएको बताए। अनि आफूलाई सेरिमोनियल राष्ट्रपतिमा खुम्चने इच्छा नरहेको बताए।
‘जस्तोसुकै परिस्थिति सामना गरेर भए पनि संविधान दिनका लागि मिलेरै जानुपर्छ भन्नेमा पहिले प्रचण्ड र ओलीबीच सहमति बन्यो, त्यही सहमतिको जगमा अन्य दलहरूलाई समेत मिलाएर संविधान जारी गर्ने वातावरण बनेको हो,’ एमाओवादी अध्यक्ष दाहालसँग निकट नेता वनमन्त्री अग्नि सापकोटाले कान्तिपुरसँग दुईको सम्बन्धबारे भनेका छन्। दुई नेता बीचको सुध्रिँदै गएको सम्बन्धलाई थप मजबुत बनाउने काम गर्यो, वैशाख १२ को भूकम्पले।
संसदमा संकल्प प्रस्ताव पारित गर्नेदेखि जेठ २५ मा १६ बुँदे सहमति कायम गर्ने काम ओली र दाहालको संयुक्त प्रयासमा सफल भयो। संविधान जारी गर्ने प्रक्रिया संविधानसभामा अघि बढिरहँदा अझै मित्रता बढ्दै गयो।
संविधानसभाले संविधान पारित गर्ने दिन नजिकिँदै जाँदा मधेसी दलहरूको आन्दोलनलाई कारण देखाउँदै भारतले विशेष चासो दिन थालेको थियो जुन कुरा ओली र दाहाल दुबैलाई मनपरेन। संविधान जारी हुन नदिने चलखेलको रूपमा दुबै नेताको समान बुझाइ रह्यो।
तर बजेटअघि कांग्रेसले प्रचण्डलाई प्रस्ताव गरेसँगै दुई नेताबीच खटपट सुरु भयो। बजेटपछि प्रचण्डलाई नेतृत्व छाड्ने गरी गठबन्धन कायम राख्ने गरी भद्र सहमति भएपछि ओली सरकार जोगियो। तर भद्र सहमति नभएको भन्दै ओली पछि हटेपछि फेरि दुई नेताबीचको सम्बन्ध चिस्सियो। प्रधानमन्त्री ओलीले एउटा कार्यक्रममा प्रचण्ड नआउँदा खल्लो लागेको बताएका छन्।
मिल्दा हदैसम्म मिल्ने र विमति हुँदा कडा रुपमा विपरीत ध्रुवमा उभिने प्रचण्ड र ओलीको सम्बन्ध यतिखेर 'हेट मोड'मा छ। यसको चरम रुप के हुने हो, हेर्न बाँकी छ।