काठमाडौं : युके टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इन्डियन जिमखाना क्लब विरुद्धको टी ट्वान्टी खेलमा जित हात पारेको छ।
जिमखानाकै घरेलु मैदानमा भएको खेलमा नेपालले इन्डियन जिमखानलाई २० रनले पराजित गरेको हो।
१६२ रनको लक्ष्य पछ्याएको जिमखाना टोलीलाई १२० रनमा रोक्दै नेपालले युके टुरमा लगातार दोस्रो जित हासिल गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सागर पुनको अर्धशतकको मद्दतमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। नेपालको लागि सर्वाधिक रन बनाएका पुनले ४८ बल खेल्दै ४ चौका र एक छक्काको मद्दतमा ५६ रन बनाए। यस्तै ओपनर ज्ञानेन्द्र मल्लले ३८, कप्तान पारस खड्काले १५ तथा राजेश पुलामी मगरले १३ रन जोडे। सुवास खकुरेल ६ र विनोद भण्डारी २ रनमा आउट भए भने राजु रिजाल २४ रनमा नटआउट रहे।
बलिङतर्फ जिमखानाका पुनित के मेहरा र आदित्य अर्चियाले तीन ३ विकेट लिए।
जवाफमा १ सय ६३ रनको लक्ष्य पछ्याएको घरेलु टोली नेपाली बलरहरुको कसिलो बलिङसामु टिक्न सकेन र निर्धारित २० ओभरमा १ सय ४२ रनमै अलआउट भयो।
इन्डियन जिमखानाका लागि पुनित के मेहराले सर्वाधिक ४७ रन बनाए। यस्तै सदिक अहमद्जाईले २५, भुपिन्दर सिंहले २४ तथा आदित्य अर्चियाले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
बलिङतर्फ नेपालका विक्रम सोब, करण केसी, सागर पुन र शक्ति गौचनले २/२ विकेट लिए भने पारस खड्काले १ विकेट हात पारे।
मेरिलिवोन क्रिकेट क्लबसँग खेल्न युके टुरमा रहेको नेपाली टोलीले पहिलो खेलमा फ्रि फोरेस्टरलाई १ सय २९ रनले पराजित गरेको थियो।
फोटो : cricketingnepal