गौशाला : भारतीय पक्षबाट नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोकेका छन्।
महोत्तरीको मटिहानी गाविसस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मधवापुरमा नाला निर्माण गर्न लागिएको थियो। सशस्त्र प्रहरी निरीक्षक मानबहादुर पाण्डेको नेतृत्वमा गएको टोलीले निर्माण कार्य रोक्का गरेको हो।
भारतीय पक्षले नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको थाहा पाएपछि सशस्त्र प्रहरीले रोक्का गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुन्दर खड्काले बताए।
बिहीबार दिउँसो भारतीय पक्षले सीमा स्तम्भ नम्बर २९७ नजिकै नेपाली भूमिमा ६/७ फिट जग्गा ओगट्ने गरी नाला निर्माण थालेका थिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र नेपाली सशस्त्र प्रहरीको सम्झौतामा सो काम रोकिएको हो।
सशस्त्र प्रहरीले भारतीय पक्षबाट नेपाली भूमिमा बनाउन लागिएको नालाबारे सम्बन्धित निकायमा जानकारी पठाइसकिएको प्रहरी उपरीक्षक खड्काले बताए।