PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

ओलीविरुद्धको अविश्वास प्रस्तावमा साउन ६ गते छलफल हुने



मनोज सत्याल

ओलीविरुद्धको अविश्वास प्रस्तावमा साउन ६ गते छलफल हुने

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीविरुद्ध व्यवस्थापिका संसदको विश्वास छैन भनी माओवादी केन्द्र र कांग्रेसले दर्ता गराएको अविश्वास प्रस्तावमा साउन ६ गते बिहीबार छलफल हुने भएको छ। 

अविश्वासको प्रस्तावमा २८१ जनाको हस्ताक्षर रहेको छ। असार २९ गते दर्ता भएको सो प्रस्ताव व्यवस्थापिका संसदको नियमावली अनुसार सात दिन पूरा भइसकेपछि सभामुखले छलफलको लागि मिति तोकेकी हुन्। 

छलफलपछि सो प्रस्तावमा मतदान हुनेछ र तत्काल कायम संख्याको बहुमतले प्रस्तावको पक्षमा मतदान गरे ओली पदमुक्त हुनेछन्। 

बजेट आश्रित विधेयक पास नहुने

बजेट आश्रित तीन विधेयक पास गर्ने कार्यसूची रहेको व्यवस्थापिका संसदको बैठक आज पनि बस्न सकेन। सूचना टाँस गरेर बैठक साउन ६ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएकोले ती विधेयक अब अविश्वास प्रस्तावको टुङ्गो लागेपछि मात्रै पास हुनेछन्। 

आज बस्ने भनिएको बैठकका लागि कार्यसूचीसमेत प्रकाशित भइसकेको अवस्थामा  विशेष कारणवश भन्दै संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गरी बैठक स्थगित भएको जानकारी गराएका हुन्।

यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दल एमाले र राप्रपा नेपालले बैठक राख्नुपर्ने सुझाव सभामुखलाई दिएका थिए। माओवादी केन्द्र र कांग्रेसले  भने पहिला अविश्वास प्रस्तावको टुङ्गो लाग्नुपर्ने बताउँदै आएको छ। माओवादी केन्द्रले बजेटका बाँकी विधेयक अविश्वास प्रस्तावको टुङ्गो नलागी पारित हुन नदिने निर्णय गरेको थियो। 

समितिको बैठकमा सभामुख ओनसरी घर्तीले उचित निर्णय गर्ने बताएकी थिइन्। 

के हुनेछ साउन ६ गते?

यो दिन प्रस्तावकमध्ये पहिलो हस्ताक्षरकर्ता अर्थात् प्रचण्डलाई सभामुखले प्रस्ताव पेश गर्न भन्नेछन्। प्रचण्डले चाहेमा आफ्नो वक्तव्यसहित प्रस्ताव पेश गर्नेछन्। 

त्यसपछि सभामुखले यो प्रस्तावको विषयमा छलफल गर्न समय निर्धारण गर्नेछिन्। छलफलको अन्तमा प्रधानमन्त्रीले यसबारे जवाफ दिनेछन्। प्रधानमन्त्री उपस्थित हुन असमर्थ भए प्रधानमन्त्रीले अधिकार दिएका कुनै मन्त्रीले प्रस्ताव र छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्। 

यसपछि सभामुखले प्रचण्डलाई प्रस्ताव फिर्ता लिनलाई समय दिनेछन्। उनले प्रस्ताव फिर्ता लिए वर्तमान सरकार नै बहाल रहनेछ। उनले फिर्ता लिन नमाने यो प्रस्ताव निर्णयार्थ बैठकमा प्रस्तुत हुनेछ। 


चाहियो २९८ मत

नियम १६० को उपनियम ८ मा अविश्वासको प्रस्तावमाथि व्यवस्थापिका संसदको निर्णय मत विभाजनद्वारा हुने उल्लेख छ।    

यस नियम बमोजिमको प्रस्ताव तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भए प्रधानमन्त्री आफ्नो पदबाट स्वतः पदमुक्त हुनेछ। 

संसद ६०१ सदस्यको भए पनि तत्काल कायम संख्या ५९५ मात्र रहेको छ। यसको बहुमत २९८ हुन आउँछ। 

सुशील कोइराला र सूर्यबहादुर थापाको निधन, बाबुराम भट्टराईको राजीनामा र विद्या भण्डारी राष्ट्रपति भएपछि स्थान रिक्त भएको छ भने सञ्जय शाह र ल्हारक्याल लामा निलम्बनमा परेका छन्। यसमध्ये सभामुखले बराबरी मत भएमात्र मतदान गर्न पाउनेछन्। 
 

कामचलाउ बन्नेछन् ओली, नयाँ प्रम चुन्न नियमावली संशोधन आवश्यक

यदि अविश्वासको प्रस्तावमा २९८ वा त्यसभन्दा बढी मत पर्योक भने सरकार ढल्नेछ। प्रधानमन्त्री केपी ओलीको सरकार कामचलाउ बन्नेछ। 
नयाँ प्रधानमन्त्री चुन्न भने हाल कायम रहेको नियमावलीमा कुनै व्यवस्था छैन। नियमावलीमा संविधानको धारा २९८ को उपधारा २ बमोजिम राजनीतिक सहमतिबाट र त्यो नभए नियम ४९ को उपनियम २ बमोजिम सभामुखले तोकेको दिन र समयमा प्रधानमन्त्रीको निर्वाचन हुने उल्लेख छ। 

संविधानको धारा २९८ संक्रमणकालीन व्यवस्था अन्तर्गत संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको मन्त्रिपरिषद्लाई विस्थापन गर्न संविधान प्रारम्भ भएपछि आह्वान गरिएको संसदको अधिवेशन सुरु भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिमा र त्यो नभए बहुमतबाट प्रधानमन्त्री निर्वाचित गर्ने व्यवस्था हो। 

संविधानको यो धारा अनुसार केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित भइसकेका छन्। त्यसैले नयाँ प्रधानमन्त्री निर्वाचन गर्न राजनीतिक सहमतिका आधारमा नियमावलीमा नै संशोधन जरुरी हुन्छ। 

यसका लागि अविश्वासको प्रस्तावमाथि छलफल हुने दिनभन्दा अगावै दलहरुबीच सहमति हुनुपर्ने देखिन्छ। सहमति नभई नियमावली संशोधन नभए नयाँ प्रधानमन्त्री निर्वाचन हुन नसक्ने भएकोले कामचलाउ सरकारका रुपमा ओली सरकार कायमै रहनेछ। 

नियमावली संशोधनका लागि प्रस्तावको सूचना सभामुखलाई दिने, सभामुखले अनुमति दिने, नियमावली संशोधन मस्यौदा समिति गठन गर्ने र त्यसको प्रतिवेदनपछि विधेयक पास गरे जस्तै गरी कार्यविधि अपनाएर पास गर्नुपर्नेछ। 

सहज रुपमा नियमावली संशोधन हुने र निर्वाचन हुने हो भने साउनको दोस्रो वा तेस्रो सातासम्म प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुनेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell