
काठमाडौं : संघीय गठबन्धनको ३९ दिने रिले अनसनको अन्तिम दिन आज गठबन्धनका शीर्ष नेताहरू नै अनसन बसेका छन्।
संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा सम्मिलित २९ दल र समूहको गठबन्धनले गत जेठ २५ गतेदेखि खुलामञ्चमा १२ घन्टे रिले अनसन थालेको थियो। गठबन्धनको तेस्रो चरणको आन्दोलन अन्तर्गतको रिले अनसन आज सकिने भएको छ।
घोषित संविधानप्रति असन्तुष्टि राख्दै आएको गठबन्धनले गत जेठ १ गतेदेखि उपत्यकाकेन्द्रित आन्दोलनमा सिंहदरबार र बालुवाटार घेराउ समेत गरिसकेको छ। संविधान पुनर्लेखनसहित जारी संविधान र जनजीविकासँग सम्बन्धित २६ बुँदे मागहरू राखेर गठबन्धन आन्दोलनमा होमिएको हो।
संविधान जारी हुनुभन्दा अगावै २०७२ साउन ३१ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन थालेको थियो भने ६/६ महिना तराई–मधेसमा लामो आम हड्तालतासहित नाकामा धर्ना समेत दिएको थियो। ६ महिना लामो आन्दोलनको क्रममा सरकारले करिब ६० जनाको मृत्यु भइसकेको छ।
उपत्यकाकेन्द्रित आन्दोलनयता सरकारले वार्ताका लागि आह्वान गरे पनि वार्ता हुन सकेको छैन। गठबन्धनको नाममा यतिबेला आन्दोलन भइरहँदा सरकार मोर्चालाई वार्ताका लागि पत्र पठाएर सत्ताका शासकहरूले गठबन्धन फुटाउन खोजिरहेको समेत गठबन्धनका नेताहरूले खण्डन गरिरहेका छन्।
अनसनको अन्तिम दिनको नेतृत्व संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक उपेन्द्र यादवले गरेका छन्।
त्यसैगरी, शुक्रबार बिहान ७ बजेदेखि अनसनमा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारु, ससफो नेपालका उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रणध्वज कन्दङ्वा, उपमहासचिव दानबहादुर विश्वकर्मा, सचिव रत्नेश्वरलाल कायस्थलगायत नेताहरू सहभागी छन्।
अनसन सकिनेबित्तिकै आन्दोलनको स्वरुप कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल र गृहकार्य गरी साउन २ गते बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम अगाडि सार्ने समेत गठबन्धनले जनाएको छ।
अनसनको अन्तिम दिन गठबन्धनसम्बद्ध दल र घटकहरूको ४१ जना नेता तथा कार्यकर्ताहरू अनसनमा छन्।