PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​मधेसी मोर्चाको अनसनस्थलमा गएर प्रचण्डले भने, मलाई माइति आएजस्तो लागेको छ



सविन ढकाल

​मधेसी मोर्चाको अनसनस्थलमा गएर प्रचण्डले भने, मलाई माइति आएजस्तो लागेको छ


काठमाडौँ : संयुक्त मधेसी लोकतान्त्रिक मोर्चा सम्मिलित २९ दल र समूहको संघीय गठबन्धनले ३९ दिनदेखि गरिरहेको रिले अनसनको अन्तिम दिन टुँडिखेल खुलामञ्चमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूलाई घरबाट माइती आएको जस्तो लागेको प्रतिक्रिया दिएका छन्। 

'मलाई घरबाट माइती आएको जस्तो लागिरहेको छ,' गठबन्धनका शीर्ष नेताहरु अनसन बसेको स्थलमा प्रचण्डले भने, 'मैले आफैले जन्माएको आन्दोलन हो यो।'

उनले कुनै बेला बाटाहरु मोडिए पनि अहिले सबै मूल बाटोमा आइपुगेको बताए। 'मेरो नेतृत्वमा कांग्रेससहितको सरकार बन्दैछ', उनले अनसनमा रहेका नेताहरुलाई प्रतिवद्धता दिलाए, 'तपाईँहरुको माग पूरा हुन्छ।'

उनले नेपाली कांग्रेससँग गरेको सात बुँदे सहमतिको एक नम्बरमा नै मधेस समस्या समाधान गर्ने विषय राखेको बताए। 

'यो सरकार बनाउनको लागि तपाईँहरुको पनि भूमिका छ भन्ने लाग्छ,' प्रचण्डले आफूलाई साथ दिन पनि गठबन्धनसित आग्रह गरे। 

गठबन्धनसँग सम्बद्ध दलहरूसित ४२ जना सांसदहरू रहेका छन्। ओलीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने गठबन्धनले बुधबारै विज्ञप्ति प्रकाशित गरी जनाएको थियो।

कार्यक्रममा प्रम ओलीलाई व्यङ्ग्य गर्दै नयाँ सरकार चाहिन्छ भन्ने व्यहोराको गीतमा नृत्य प्रस्तुत गरिएको थियो। 

संविधान पुनर्लेखनसहित जारी संविधान र जनजीविकासँग सम्बन्धित २६ बुँदे मागहरू राखेर गठबन्धन आन्दोलनमा होमिएको हो।

संविधान जारी हुनुभन्दा अगावै २०७२ साउन ३१ गतेदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन थालेको थियो भने ६ महिना तराई–मधेसमा लामो आम हड्तालतासहित नाकामा धर्ना समेत दिएको थियो। 

उपत्यकाकेन्द्रित आन्दोलन यता सरकारले गठबन्धनलाई औपचारिक वार्ताका लागि बोलाएको थिएन।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सात बुँदे सहमति

जनताको चहना अनुसार १२ बुँदे समझदारी, २०६२÷०६३ को जनआन्दोलन, बिस्तृत शान्ति सम्झौतासम्मको सहमति र सहकार्यलाई स्मरण गर्दै, संबिधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान प्राप्त भएको ऐतिहासिक उपलब्धिमा गर्भ गर्दै नेपाली जनताको साझा सम्पत्ति नेपालको संविधानलाई सबै नेपालीले स्वीकार गर्ने वातावरण सुनिश्चित गर्न, संबिधानको कार्यन्वयन गर्न, संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न, बिनाशकारी भूकम्पबाट भूकम्पबाट उत्पन्न समस्याको निराकरण गर्न, बेरोजगारी, महंगी, कालोबजारी र दैजिक उपभोग्य बस्तुको अभावका जनताले भोग्नु परेको पिडा समाधान गर्न नेपाली समाजमा ब्याप्त असन्तोष र निराशा समाप्त पार्दै देशलाई शान्ति, स्थिरता, आर्थिक सम्बृद्धि एवं विकासतर्फ अग्रसर गर्ने प्रतिवद्धता व्यक्त गर्दै निम्नलिखित सहमति गर्दछौं ।

१. नेपालको संबिधान जारी भएसँगै देशभित्र देखा परेको असन्तुष्टि, तराई मधेसमा भएको आन्दोलन, थारु लगायत सबै आदिबासी जनवातिका अधिकार सम्वन्धि सवाल समेतलाई दृष्टिगत गरी राजनीतिक सहमतिका आधारमा सीमांकन लगायतका लगायतका बिषयमा सम्बोधन गर्न आवश्यक संशोधन गरी संविधानको सर्वस्वीकार्यताका लागि राजनीतिक सहमतिको वातावरण बनाउने ।

२. नेपालको संविधानले प्रत्याभूत गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक उपलब्धिको रक्षा गर्दै संविधानको कार्यान्वयनका लागि आवश्यक नीति, संरचना र कानूनी व्यवस्था गर्ने । स्थानीय तहको सङ्ख्या र सीमांकन निर्धारण गर्न गठित आयोगबाट चाँडै कार्य सम्पन्न गरी स्थानीय तहको निर्वाचन र प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने ।

३. संक्रमणकालीन न्यायको बिषयलाई सम्बोधन गर्न गठन गरिएका सत्य निरुपण तथा मेलमिलाप आयोत र ब्यक्ति बेपत्ता सम्बन्धि आयोगसँग सम्बन्धित कानून आवश्यक संसोधन गरी समाजमा शान्ति तथा मेलमिलापको स्थिति बनाउन आयोगहरुलाई प्रभावकारी रुपले कार्य गर्ने वातावरण बनाउने । सशस्त्र संघर्षको क्रममा मारिएका मृतकका परिवार, बेपत्ता भएका व्यक्तिका परिवार, अंगभंग भएका ब्यक्ति र विस्थापित भएका ब्यक्तिले पाउनुपर्ने बाँकी रहेको क्षतिपूर्ति रकम उपलब्ध गराउने । सशस्त्र संघर्षको अवधिका जग्गा सम्बन्धि विवाद सहमतिका आधारमा समाधान गर्ने ।

४. बि. सं. २०७२ साल बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पका कारण भएको जनधनको क्षति र यसबाट उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिई पीडितहरुलाई राहत प्रदान गर्ने, पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई राष्ट्रिय अभियानका रुपमा तीव्र गतिमा अगाडि बढाउने ।

५. देशमा शान्ति सुरक्षा र सुशासनलाई प्रत्याभूत गर्न, कालोबजारी, कृत्रिम अभाव, महंगी अन्त गरी दैनिक उपभोग्य सामाग्री सहज उपलब्ध हुने ब्यवस्था गर्ने ।

६. नेपालको संविधान परिकल्पना गरे बमोजिम देशमा शान्ति स्थिरता, सुशासनको प्रत्याभूति गर्दै अर्थिक समृद्धि तथा बिकासको अभियान सञ्चालन गर्ने ।

७. उपर्युक्त प्रतिबद्धता कार्यान्वयन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार गठन गर्ने । यसका लागि नेकपा माओवादी केन्द्रले तत्काल एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिई आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि आवश्यक सबै प्रक्रियाहरु अवलम्वन गर्ने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell