PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

ओली सरकार नढल्ने पाँच कारण!



पहिलोपोस्ट

ओली सरकार नढल्ने पाँच कारण!

हास्य कलाकार मनोज गजुरेलले विज्ञहरुसँगको राय र सर्वसाधारणसँगको कुराकानीको आधारमा वर्तमान सरकार नढल्ने रिपोर्टिङ गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नढल्ने पाँच कारण गजुरियल डट कममा रिपोर्टिङ गरेका हुन्।

विभिन्न विज्ञको निचोड भन्दै सरकार कुनैपनि हालतमा नढल्ने कारण उनले दिएका छन्। ‘डाक्टर, इन्जिनियर, भाषाशाष्त्री, ज्योतिषशाष्त्रीहरु सम्मिलित विज्ञ समूहले विभिन्न तर्क प्रस्तुत गर्दै ओली सरकारलाई ढुक्क भएर बस्न सुझाव दिएका छन्’, गजुरेलको रिपोर्टिङमा उल्लेख छ।  

  • वरिष्ठ इन्जिनियर कऱ्याप् केसी - ‘ढल्नकालागि पहिले उम्रिनु वा गाडिनुपर्छ तर नेपालका जुनसुकै सरकार टुप्पाबाट पलाएका हुने हुनाले तिनीहरु ढल्ने भन्ने कुरै आउंदैन।’
  • वरिष्ठ स्त्रिरोग बिशेषज्ञ डा.होला रिजाल - संसारका कुनै पनि सरकारलाई कसैले पनि ढाल दिन सक्दैन। सरकारलाई ढाल दिएपनि उसलाई त्यो चिज काम लाग्दैन। बरु दिने नै भए जसलाई त्यसको आवस्यकता छ, उसलाई दिएमा साधनको सदुपयोग हुनसक्छ।
  • स्खलित ज्योतिषाचार्य त्रिकालदेव पण्डित - ‘सरकारलाई ढाल दिने कुरा अनैतिक, अमांगलिक र अप्रासंगिक छ। बरु त्यो आफैं प्रयोग गर्ने हो भने जनसंख्या नियन्त्रणमा काम लाग्न सक्छ। प्रकृति र परमेश्वरको कल्याण पनि यसैमा छ।’
  • रत्नपार्कमा भेटिएका हेटौंडाका ट्याक्सी चालक चतुर वाईवा -  ‘बुढ्यौलिएको रुख, कुहिएको खम्बा, मक्किएको किलो वा भत्किएको घरजस्तो भए पो ढाल्ने र ढलाउने कुरा हुन्थ्यो! बन्ने र बिग्रिने कुरालाई ढाल्ने र ढलाउने भनेको सुन्दा कम्ति हाँस उठ्दैन भन्या!’
  • वरिष्ठ भाषाविद् डा. माधव पोखरियाल फेसबुकमा - ‘सरकार परिवर्तन हुनसक्छ, हट्न सक्छ, अर्को आउन सक्छ, चेन्ज हुन सक्छ तर सरकार ढल्छ र ढालिन्छ भन्ने कुराचाहीं खुट्टी हेरेपनि पत्याउंन सकिन्न !

गजुरेलले  सरकार ढल्ने र ठडिने विषयमा नयाँ शब्द खोजी भइरहेको रिपोर्टिङ आफ्नै वेबसाइटका लागि गरेका छन् – ‘विज्ञहरुको यो निष्कर्षपछि ओली सरकार ढल्ने पिरले छटपटाएकाहरु र भोलि सरकार ठडिने खुशीले उफ्रिएकाहरु बैकल्पिक शब्द खोज्नका लागि त्रिभुवन विश्व बिद्यालय, नेपाली भाषा बिभागमा धाउन थालेको बिभागका प्रमुख नेत्रपाणी नेपालले बताउनुभयो।‘

गजुरेलले अन्त्यमा लेखेका छन् - उपरोक्त रचनालाई आधिकारिक र सत्य ठानेर विश्वास पर्न गएमा हास्यास्पद हुनेछ । यो रीयल कुराहरुमाथी गजुरीयल टिप्पणीमात्र हो।

फोटो : मनोज गजुरेलको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell