PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कथाकार राजेन्द्र पराजुली भन्छन्- 'मलाई नारायण ढकालदेखि ईर्ष्या लाग्छ'



पहिलोपोस्ट

कथाकार राजेन्द्र पराजुली भन्छन्- 'मलाई नारायण ढकालदेखि ईर्ष्या लाग्छ'

काठमाडौं : भरखरै नयाँ कथा संग्रह 'शुक्रराज शास्त्रीको चस्मा' प्रकाशनमा ल्याएका राजेन्द्र पराजुलीले कथा लेखन संकटमा परेको बताएका छन्।न्युरोडस्थित नेपाल-भारत पुस्तकालयमा भएको अन्तरसंवाद कार्यक्रममा उपस्थित भएका उनले नेपाली साहित्यमा पछिल्लो समय कथाका पुस्तक कम आएकाले नै आफूले प्रकाशनको सोच बनाएको प्रस्ट पारे।

आफूले 'उडन्ते' कथा नलेख्ने गरेको भन्दै उनले सर्रियालिज्म कथामा विश्वास नभएको तर्क समेत गरे।

'शुक्रराज शास्त्रीको चस्मा' कथामा त काल्पनिकता पनि मिसाउनुभएको छ नि?' उनीसँग संवाद गरिरहेका अर्का कथाकार नारायण ढकालले च्यापिहाले।

कथालाई कलात्मकता बनाउनका लागि केही सहारा चाहिने भन्दै बचाउ गरेका उनले भने, 'मेरा सबै कथामा कल्पना मात्रै छैन। यथार्थलाई जस्ताको तस्तै प्रस्तुत गर्ने हो भने त त्यो समाचार भइहाल्यो नि।'
 
देशले धेरै परिवर्तन भोगे पनि विकृत राजनीतिले तहसनहस बनाएको समाजको पीडा, दु:ख र अभाव देख्दादेख्दै आफूले काल्पनिक कथा लेख्न नसकेको उनको प्रस्टीकरण थियो। 'धेरै परिवर्तन भोग्ने र देख्ने भाग्यमानी पुस्तामा म पनि पर्छु,' उनले थपे, 'त्यसको असर र प्रभावको भित्री तहसम्म पुगेर लेख्नुको साटो म कसरी उडन्ते कथामा रमाउन सक्छु र!'

साहित्य-बजारको विषयमा सहभागीले उठाएको जिज्ञासमा दुवैको धारणा उस्तै थियो। 'साहित्यलाई बजारले लिड गर्नु नराम्रो होइन। त्यसले पाठक बढाउँछ,' पराजुलीले भने, 'तर मलाई पुस्तक बिक्रीको चिन्ता कहिल्यै भएन। त्यो त प्रकाशकलाई हुनुपर्छ। हुनु स्वाभाविक हो।'

दर्शकदीर्घाबाट सोधिएको अर्को प्रश्नको जवाफमा उनले अहिलेको पत्रकारिता साहित्यिक बन्दै गएको र साहित्यमा पत्रकारिता हाबी भएको टिप्पणी गरे।
 

ढकालप्रति पराजुलीको ईर्ष्या

सादत हसन मन्टोका कथादेखि आफू बढी प्रभावित भएको पराजुली बताइरहेका थिए। 'तर मलाई केही नेपाली लेखकहरुको ईर्ष्या लाग्छ,' उनले नाम लिए, 'नारायण ढकाल, नयनराज पाण्डे, महेशविक्रम शाह, विप्लव ढकालदेखि निकै ईर्ष्या लाग्छ। किनकि उहाँहरु राम्रो लेखिरहनुभएको छ। म राम्रो लेख्ने प्रयास गरिरहेको छु।'

ढकालले भने आफू धेरै बिक्ने लेखक नभएको बताए। 'घरमै पनि मेरोभन्दा बढी बुद्धिसागरको पुस्तक पढ्नेहरु छन्,'  हाँस्दै उनले जवाफ दिएका थिए।


तीन खालका कथा

किताबमाथि संक्षेपमा टिप्पणी गरेका ढकालले संग्रहका २० कथामा विशेषगरी तीन खालका कथा पाइने बताए। 'राजनीतिक, राजनीतिक-प्रेम अनि प्रेम कथा,' उनले भने, 'प्रेमलाई राजनीतिसँग जोडेर लेख्नु उहाँको खुबी हो। त्यो म सक्दिनँ।'
 
द्वन्द्व कथा र पछिल्लो मधेस आन्दोलनसँग सम्बन्धित कथा लेखेको चर्चा गर्दै ढकालले आन्दोलनको पक्ष लिए पनि त्यसका नेतृत्वलाई भने लेखकले इन्कार गरेको भनाइ राखे।

पराजुलीले भने आफूले पहिलेदेखि नै राजनीतिक मनोविज्ञानका कथा लेख्दै आएकाले त्यसले समाज राजनीतिलाई छुने प्रस्ट पारे। 'काँठे समाज र त्यहाँ पर्ने राजनीतिक प्रभाव बढी बुझेकाले ती मेरा कथामा आएका छन्। तर यौन मनोविज्ञानमा रहेर एकदमै कम लेखेको छु।'

बढीजसो चरित्र निर्माणमै ध्यान दिने गरेको र केही कथामा काव्यात्मकता बढी भएको महसुस गरेको पराजुलीको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell