PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कान्तिपुर गाथा : फर्कियो चार्ली कतारबाट



किशोर नेपाल

कान्तिपुर गाथा : फर्कियो चार्ली कतारबाट


​कतार उडेको ठीक तीन महिनापछि पन्ध्र दिनको विदामा कान्तिपुर फर्कियो चार्ली। उसले आफू आउने खबर कसैलाई गरेन। न घरमा गर्‍यो, न कनिकालाई नै। ऊ ममी, ड्याडी, कनिका र साथीहरु सबैलाई सरप्राइज दिन चाहन्थ्यो। ममीले दिनहुँ फोन गरेर ड्याडी विरामी भएको नसुनाएको भए ऊ आउने पनि थिएन। कम्पनीले उसलाई दुई वर्षको कन्ट्रयाक्टमा राखेको थियो। ऊ आधा दर्जन वरिष्टाको सुपरभाइजर थियो।

वरिष्टाहरुलाई कफी लभरहरुको चाहना अनुसार कफीको स्वादमा डुबाइदिन पोख्त थियो चार्ली। उसले तीन महिनामा नै कम्पनीमा आफनो हैसियत बनाइसकेको थियो। कामदारहरुको बीचमा ऊ लोकप्रिय थियो। ग्राहकहरुले पनि मन पराउँथे। कफी स्टोरमा केटी ग्राहकहरु कमै आउँथे। जति आउँथे ती क्वालिटीका हुन्थे। एउटी थिइ आयशा। कफी स्टोरमा पस्ने बित्तिकै ओपन स्पेसमा पस्दथी र आफनो बुर्का उतार्थी। त्यसपछि मार्लवोरो सिगरेट सल्काउँथी। उसलाई प्रायः चार्ली नै एटेण्ड गर्थ्यो। आयशाको दुई–तीन भिजिटमा नै चार्लीले उसको टेष्ट थाहा पाइसकेको थियो : क्यापचिनोसँग सिनामम रोल। स्टोरका केटाहरुले चार्लीलाई जिस्क्याउन थालिसकेका थिए – ‘ल है, चार्लीको चाला निको छैन।’

कान्तिपुर फर्किदा हवाइजहाजमा आयशालाई सम्झिइरहेको थियो चार्ली। त्यो केटी इस्लाम धर्मावलम्वी नभएकी भए चार्लीले पक्कै पटाउँथ्यो। चार्लीकोे ट्रेजेडी नै हो ऊ जे मन पराउँछ त्यो उसको हुँदैन। आयशा कफी पिएपछि आफनो ओठमा लिपष्टिक मिलाउँथी र आँखीभुईंमा आइलाइनर दल्थी। चार्ली सोच्दथ्यो, ‘पूरै अनुहार त बुर्काले छोपिएको हुन्छ। मेकअप चाहीं कसलाई देखाउन गरेकी होली?’ स्टोरको ओपन स्पेसमा ऊ एकघण्टा जति बिताउँथी। तीन चार स्टीक सिगरेट तान्थी। त्यसपछि हिंड्थी।

तर्कनाहरुको संसारमा रमाउँदा रमाउँदै चार्लीले प्लेन कान्तिपुरमा ल्याण्ड गरेको चालै पाएन। जहाजबाट उत्रिने बेलामा यात्रीहरु सँधै हतारमा हुन्छन्। मानौं कि नहतारिए प्लेनबाट ओर्लिनै पाइँदैन। चार्ली सबैभन्दा पछाडि ओर्लियो। उसले ह्याण्डक्यारीमा एउटा सानो व्रिफकेस ल्याएको थियो। ममी र कनिकाका लागि केही गिफ्ट थिए। उसलाई कुनै हतार थिएन। जहाजबाट ओर्लिएर इमिग्रेसनसम्म पुग्दा उसलाई कान्तिपुर अलिकति बदलिएको जस्तो लाग्यो। त्यस्तो केही बदलिएको थिएन। तीन वर्षमा त केही नबदलिने शहर तीन महिनामा के बदलियोस्? यो चार्लीको भ्रम मात्र थियो।

इमिग्रेसनमा क्यू लामै थियो। काउण्टर पनि व्यवस्थित थिएन। झण्डै पैंतालिस मिनेटपछि चार्लीको पालो आउँदा ऊ झल्लु भै सकेको थियो। कान्तिपुर साँच्चै गज्जबको शहर छ। यहाँबाट निस्किन जति गाह्रो हुन्छ, पस्न पनि त्यत्तिकै गाह्रो हुन्छ। आगमन र निर्गम दुवैमा कठिनाई। काउण्टर क्लर्कले चार्लीको पासपोर्टलाई ओल्टाइ–पल्टाइ हेर्‍यो। त्यसपछि एउटा पानामा सरकारी छाप ठोकी दियो। चार्ली त्यो काउण्टरबाट मुक्त भयो। भन्सारमा उसले कुनै दंगल गर्नु परेन । एक्सरे मसीनले उसको व्रिफकेस निरापद भएको प्रमाणित गर्‍यो। आगमनका विधि र प्रक्रियाहरु पूरा गरेर चार्ली खुला आकाशमा निस्कियो। त्यसपछि एउटा ट्याक्सीसँग बार्गेंनिङ गरेर हजार रुपियाँमा ऊ अपरान्ह पाँच बजे सकुशल घर पुग्यो।

उसले घरको ढोकाकोे बेल बजायो। ढोका ममीले खोलिन्। ढोकामा ठींग उभिएको छोरोलाई देखिन्। एकछिन त उनी ट्वाल्ल परिन्। बिचरीले विश्वासै गर्न सकिनन्। त्यसपछि उसलाई घरभित्र तानिन् र अंगालो मारिन्। चार्लीका ड्याडी बैठकमा बसेका थिए। उनको शरीर खिसिक्क थियो। अनुहार मलीन। चार्ली सरासर गएर ड्याडीलाई अंगालोमा कस्यो। उनले चार्लीको कपाल सुमसुम्याए। निकै बेरसम्म तीनैजना चुपचाप एकअर्कालाई हेरी रहे।

साँझ छ बजे उसले कनिकालाई फोन गर्‍यो। कनिकाले फोन उठाउनासाथ प्रश्न गरी, ‘तिमी कहिले आउने भन्या ?’

चार्लीले जवाफ दियो, ‘अहिल्यै आउँ त ?’

कनिकाले भनी, ‘नजिस्क न प्लिज । साँच्ची भन न तिमी कहिले आउने ?’

चार्लीले जवाफ दियो, ‘ल, मैले तिमीलाई एउटा गिफट पठाइ दिएको छु। अहिले सात बजे अखडामा गएर कलेक्ट गर्नु है।’

चार्लीले फोन राखी दियो । त्यसपछि उ कफी पसलतिर लाग्यो कनिकालाई ल्याइदिएको गिफ्ट बोकेर। कनिका सात बज्नुभन्दा केही अगाडि नै आइपुगी। ऊ पसलको चारैतिर आँखा घुमाउन थाली। चार्ली अलिकति छेकिएर बसेको थियो। उसमाथि कनिकाको नजर परेन। ऊ स्मोकिंग जोनमा गएर बसी ढोकालाई पिठ्युँ फर्काएर। चार्ली लुसुक्क भित्र पस्यो र कनिकाको अगाडिको सीटमा थ्याच्च बस्यो र नाटकीय ढंगले आफनो नाकमा औंला राखेर भन्यो, ‘यी हेर, म तिम्रो गिफ्ट।’

कनिका सरप्राइज्ड भइ, पज्जल्ड । यो उसको जीवनकोे पहिलो र महत्वपूर्ण सरप्राइज थियो ।
 
 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको कान्तिपुर गाथा तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा) 

यो सिरिजका अन्य गाथा- 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell