
रोनाल्डिन्हो नामै सुन्नेबित्तिकै सन् २००२ को विश्वकप क्वाटरफाइनलमा इंगल्याण्डविरुद्ध गरेको गोल सबैको मानसपटलमा आइहाल्छ। २२ वर्षको उमेरमै उनले फ्रिकिक मार्फत शानदार गोल गर्दै ब्राजिललाई २–१ को जित दिलाएका थिए।
माइकल ओवेनले गोल गरेपछि पछि परेको ब्राजिलका लागि रिभाल्डोले गरेको पहिलो गोलमा समेत रोनाल्डिन्होले सहयोग गरेका थिए। कोरिया र जापानमा भएको विश्वकप अन्तत: ब्राजिलले नै जित्यो। त्यसपछि पनि उनले ब्राजिलका लागि विश्वकप खेले तर उपाधि जित्न सकेनन्। २२ वर्षमा विश्व च्याम्पियन बनेका रोनाल्डिन्होले क्लब फुटबलमा बार्सिलोनाबाट युरोपियन च्याम्पियन्स लिग लगायतका उपाधि जिते। दुई पटक घरेलु लिग ला लिगाको उपाधि र पछि एसी मिलानबाट इटालियन लिगको उपाधि पनि उचाले।
विशेषगरी ड्रिबलिङ स्किल रोनाल्डिन्होको मुख्य विशेषता हो। छलाउन जस्तै गोल गर्नमा पनि रोनाल्डिन्हो माहिर छन्। यती मात्र होइन खेलाडीमा हुनुपर्ने गुण पनि छ उनीसँग। एकदमै कुल छन् रोनाल्डिन्हो। जतिखेर पनि हासिलो। उनलाई मन नपराउने सायदै कोही होलान्।
यिनै रोनाल्डिन्हो अहिले छिमेकी मुलुक भारतमा छन्। कुनै फुटबल प्रतियोगिता खेल्न होइन। प्रिमियर फुटबल खेल्न। जहाँ उनले आफ्नो पुरानो स्किललाई फेरि एक पटक देखाउनेछन्।
रोनाल्डिन्हो मात्र होइन फुटबलका स्टारहरु रायन गिग्स, हर्नान क्रेस्पो, पउल स्कोल्स लगायतका खेलाडीहरु पनि अहिले भारतमै छन्। पहिलो दिनै रोनाल्डिन्होले गोवाकातर्फबाट फुटबल प्रतियोगितामा भाग लिए। तर रोनाल्डिन्होले गोल गर्न भने सकेनन्। गोल गर्न नसके पनि उनीसँग भेट्ने, हात मिलाउने र अंकमान गर्नेहरुको कुनै कमी थिएन। रोनाल्डिन्होले सबैको आग्रहलाई सहजै स्विकार गरे।
शुक्रबारबाट सुरु भएको फुटसल प्रतियोगिताको पहिलो दिनको दोस्रो खेलमा रोनाल्डिन्होको टीम गोवा कोलकातासँग ४–२ को स्कोरमा पराजित भयो। कोलकाता पूर्व अर्जेन्टिाइन स्टार हर्नान क्रेस्पोको नेतृत्वमा मैदान उत्रेको थियो। क्रेस्पोले गोल गरे पनि।
उद्घाटन खेलमा गिग्सको मुम्बईले पनि जित हासिल गरेको छ। फुटसलकै स्टार खेलाडी फाल्काओ रहेको चेन्नाईलाई मुम्बईले ४–२ को स्कोरमा हरायो। फुटबलमा पेले भने जस्तै फाल्काओ फुटसलका लेजेण्ड हुन्।
फुटसल एसोसिएशन इन्डियाको आयोजनामा भएको प्रिमियर फुटबलमा कुल ६ टीमको सहभागिता रहेको छ। पहिलो पटक आयोजना भएको प्रतियोगितामा १० दिनसम्म चल्नेछ।
हरेक टीममा १२ जना खेलाडी हुनेछन्। जसमा तीन अन्तर्राष्ट्रिय फुटसल खेलाडी अनिवार्य राख्नुपर्नेछ भने एक अन्तर्राष्ट्रिय फुटबलरलाई माक्र्युको रुपमा राख्न पाउनेछ। यस्तै भारतकै एक फुटसल खेलाडी पनि हरेक टीमले अनिवार्य राख्नुपर्नेछ।
भिडियोमा हेर्नस् रोनाल्डिन्होको फुटसल स्किल-