PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

उपियाँको निबन्ध लेखाउने शिक्षकलाई तनावै तनाव



पहिलोपोस्ट

उपियाँको निबन्ध लेखाउने शिक्षकलाई तनावै तनाव

काठमाडौं : काठमाडौंमा एक शिक्षक उपियाँको निबन्ध लेखाउँदै छन् र थुप्रै विद्यार्थी त्यही निबन्ध लेख्ने कोसिस गरिरहेका छन्। एक अबोध बालकले दुई सय शब्द पुर्‍याउनका लागि हरेक निबन्धमा उपियाँको निबन्धकै सहयोग लिन पुग्छ। यो निबन्ध लेख्ने क्रम भने अब सकिँदैछ।
काठमाडौं मल सुनधारास्थित नाटकघर 'थिएटर मल'मा शिक्षक र विद्यार्थीहरु ‘उपियाँको निबन्ध’लाई प्रस्तुत गरिरहेका छन्। यो नाटकको अन्तिम साताको मञ्चन भइरहेको छ।
 
केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चित सो नाटकमा सामान्यतया स्कुलमा हुने पात्रहरु, हेडसर, शिक्षकहरु, विद्यार्थीहरु र पाले दाइ सक्रिय छन्। उनीहरुबीचको दृश्य र संवादका साथ नाटक अगाडि बढ्छ।
 
नाटकलाई कलात्मक बनाउनका लागि निर्देशक श्रेष्ठले मास्कको सुन्दर प्रयोग गरेका छन्, जसबाटै शिक्षक र विद्यार्थीबीचको सम्बन्ध देखाउने प्रयत्न गरेका छन्। बालबालिका रंगीन हुन्छन् भन्ने भावमा ‘कलरफुल’ देखिने सेटमा बिम्ब र प्रतीक खेलाउँदै मन्दिरमा प्रयोग हुने घण्टीलाई विद्यालयको घण्टी बनाएर ‘विद्यालय शैक्षिक मन्दिर हो’ भन्ने भाव नाटकमा देख्न पाइन्छ। त्यस्तै स्टेजमाथि झुण्डिएका कागजका डुंगालाई शिक्षक र हाँसलाई विद्यार्थीको रुपमा बुझ्न सकिन्छ।

घरी बाल्यकालमा पुर्‍याउने, घरी शैक्षिक बहसले गम्भीर बनाउने नाटक ‘उपियाँको निबन्ध’ रमाइलो त छँदैछ, त्यससँगै शैक्षिक पद्धतिमाथि सोच्न समेत बाध्य बनाउँछ।
 
बालबालिकाको भूमिकामा समेत वयस्क कलाकार उत्रेको यस नाटकमा फिल्म र रंगमञ्चलाई समानान्तर रुपमा बढाइरहेका अभिनेता अभय बराल मुख्य विद्यार्थी पात्रका रुपमा सुहाएका छन्।

पहिलो नाटकमै राजेन्द्र भट्ट नेपाली सरको चरित्रमा सुहाएका छन्, तर चरित्रमा अझै जमन सक्ने ठाउँहरु थुप्रै छन्। विद्यार्थीका भूमिकामा नेवार बनेका सञ्जिता सञ्जी, आइस्यो र गइस्यो लगाउने एना देउजा साँच्चिकै स्कुले बालिका देखिएकी छिन्। उट्पट्याङ गरिरहने विजय ताम्राकार दर्शकको ध्यान तान्न सफल छन्। हास्य कलाकारको क्यारिकेचरमा रमाउने पाले दाइ जीवन भट्टराईले नाटकलाई रमाइलो बनाउन सघाएका छन्। त्यस्तै लक्ष्मी बर्देवा, प्रकु पाण्डेय, शंकर भण्डारी, रोसन सुवेदी, ममता लामिछाने, दिपक चन्दले आ–आफ्नो भूमिकामा न्याय गरेका छन्।
 
यो नाटक भोलि साउन २ गतेसम्म मञ्चन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell