काठमाडौँ : नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भए पनि आफूहरुले त्यसो नगर्ने बताएका छन्। प्रेस चौतारी नेपालले आज गरेको अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘संसद् विघटन गरेर जनप्रतिनिधि विहीनताको अवस्थामा मुलुकलाई पुर्याउँदैनौँ।’
उनले प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोपको संसद्मा एक/एक गरेर प्रतिवाद गर्ने बताउँदै एमालेले गरेको काम जनताको इजलासमा न्यायिक फैसला हुनेसमेत उल्लेख गरे।
नेकपा (माओवादी केन्द्र) सत्ताबाट फिर्ता भएपनि सरकार अल्पमतमा परेको भन्ने कानुनी आधार नभएको उनले स्पष्ट पारे। ‘भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय स्वाधीनताका सवाल, नाकाबन्दीको प्रतिवाद र चीनसँग सम्बन्धजस्ता राम्रा काम देखेर सरकार ढाल्ने खेलमा लागेका छन्'– उनले भने।
उनले संसद्मा विचाराधीन बजेटका विधेयकलाई छाडेर सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउनु गम्भीर गल्ती भएको टिप्पणी गरे। ‘‘सभामुखले गम्भीर गल्ती गर्न थाल्नुभएको छ। उहाँको निष्पक्षतामाथि प्रश्न उठेको छ”, सचिव ज्ञवालीले भने। रासस