
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले प्रि सिजनको खेलमा जित हात पार्दा चेल्सी भने पराजित भएको छ।
जोसे माउरिन्हो नयाँ प्रशिक्षकमा नियुक्त भएयता युनाइटेडले पहिलो खेलमै जित हात पार्दा एन्टोनिओ कोन्टेले सम्हालेको पहिलो खेलमा भने चेल्सी पराजित हुन पुग्यो।
म्यानचेष्टर युनाइइटेडले प्रिमियर लिगको नवप्रवेशी विगानलाई २–० ले हरायो। युनाइटेडको जितमा विलियम केन र आन्द्रे पिरेइराले गोल गरे।
चेल्सी पुर्व प्रशिक्षक समेत रहेको माउरिन्होसँगै यसै सिजन मात्र क्लब भित्रेका हेनरिक र एरिक बेलीले पनि यसै खेलमार्फत युनाईटेडका लागि डेब्यु गरे।
यस्तै गत सेम्टेम्बरमा खुट्टा भाँचिएपछि गत सिजनको बाँकी लिग गुमाएका डिफेन्डर लुक शाले समेत यसै खेलमार्फत पुनरागमन गरेका छन्। माउरिन्होले कोपा र युरो खेलेका १४ खेलाडीलाई आराम दिएका थिए।
माउरिन्होकै पुर्व क्लब चेल्सीले भने पहिलो खेलमा र्यापिड भिएनासँग हार बेहोरेको छ। इटालियन प्रशिक्षक कोन्टेले सम्हालेको पहिलो खेलमै चेलसी भिएनासँग २–० ले पराजित भयो।
अष्ट्रियाको एलिएन्ज स्टाडिओनमा भएको खेलमा घरेलु क्लबलाई जित दिलाउन जोएलिन्टन र टोमी कोरेअले गोल गरे।