
काठमाडौं : गुरुकुल थिएटरमा रहँदा उनी अभिनयसहित रंगकर्मका अन्य कामका लागि मात्र परिचित थिए। सानैदेखि कविता लेख्थे उनी, त्यो कमैलाई थाहा थियो। जसरी स्टेजबाहेक नेपथ्यमा काम गर्ने रंगकर्मीलाई दर्शकले देख्दैनन् त्यसरी नै उनको कविताकर्मका बारेमा गुरूकुलका रंगकर्मीबाहेक अरुलाई थाहा हुने कुरै भएन।
गुरूकुल छँदा साथीहरुको जमघटमा कविता सुनाउने बानी परेका प्रवीण खतिवडाले गुरूकुल भत्किएपछि भने त्यो मौका गुमाउनुपर्यो।
स्वयम्भुस्थित ह्वाइट र्याबिट रेष्टुराँमा भने उनी कविताका फाइलसहित उपस्थित भए। गार्डेन थिएटरद्वारा आयोजित ‘कोलाज इभिनिङ : कविता कन्सर्ट’ को छैटौं शृखलामा यी प्रखर अभिनेताले करिब ८० स्रोताका अगाडि कविता सुनाए। लाइभ म्युजिकसहित उपस्थित भएका उनले सहभागीहरुलाई सन्तुष्ट बनाए। खतिवडालाई संगीतकार तथा गायक प्रकाश गन्धर्वको सारंगीको धुनमार्फत साथ दिएका थिए।
खतिवडाले छोरीको आँखा, तिमीसँग झगडा गरेको रात, कि बहुलाइरहेछु, रित्तो छैन, छायाँ, कल्पनाको क्षण नम्बर २, मायालु नम्बर २, मैले देखेको एउटा जीवन ऊ, रोकिएको समय लगायतका कविताबाट सशस्त्र युद्ध, मधेस, प्रेम, राजनीतिप्रति आफ्नो दृष्टिकोण राखे। कार्यक्रमको अन्त्यतिर उनले ‘सरप्राइज कविता’ भन्दै ‘विक्षिप्तता’ शीर्षकमा आफ्ना गुरू तथा रंगकर्मी सुनील पोखरेलको जीवनमाथि लेखेको कविता सुनाउँदा ‘वान्स मोर’ पाए।
उनले सुनाएकामध्ये अधिकांश गुरूकुल भत्किएपछि निराश हुँदा लेखिएका कविता सुनाएका थिए। ‘सानैदेखि लेखे पनि गुरूकुल छँदा धेरै लेखेँ,’ उनले सुनाए, ‘तर यहाँ सुनाएका अधिकांश कविता गुरूकुलबाट छुट्टिएपछिका हुन्। चरम निराशामा पुगेका बेला मलाई एक्कासि कविता फुर्थे। कुनै कुराले छोयो भने म राजनीति, समाजसँग आफू र आफ्नो भोगाइलाई जोडेर कविता लेख्थेँ र हलुका हुन्थेँ।’
गुरूकुल छँदा उनले दुई वटा कविता मञ्चन गरेका थिए। उनले सम्झिए, 'अरुको डायलग बोकेर मञ्चमा जाँदा जति आत्मविश्वास हुन्छ त्यति नै डर आफ्नै कविता वाचन गर्दा हुँदो रहेछ।’