
मेरिलेवोन क्रिकेट क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेल्न युके टुरमा रहेको नेपालले लगातार चौथो अभ्यास खेलमा पनि जित हासिल गरेको छ। मंगलबार लर्ड्समा एमसीसीसँग खेल्नुअघिको अन्तिम अभ्यास खेलमा नेपालले इस्टबर्न क्रिकेट क्लबलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
३०१ रनको उच्च योगफल पछ्याएको इस्टबर्न नेपालको धारिलो बलिङसामु टिक्न नसक्दा ३४ दशमलव ३ ओभरमा १ सय १९ रनमै अलआउट भयो।
नियमित कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ललाई आराम दिँदै भेट्रान खेलाडी शक्ति गौचनको नेतृत्वमा नेपाल इस्टबर्नविरुद्ध मैदान उत्रेको थियो। नेपालको सधैंको समस्याको रुपमा देखिदै आएको नेपालले यसपटक भने परिपक्क ब्याटिङको नमुना देखाए। यसैको परिणाम हो इस्टबर्नविरुद्ध ४ खेलाडीको अर्धशतक।
ब्याटिङ मात्र होइन बलिङमा पनि नेपाली खेलाडीले शानदार प्रदर्शन गरे। नेपालका तर्फबाट बलिङ गरेका पाँचै खेलाडी विकेट लिन सफल भए भने ४ मेडन समेत राख्न सफल भए।
यसअघिका ३ अभ्यास खेलमा टस हारेको नेपालले पहिलो पटक टस जित्यो र इस्टबर्नको घरेलु मैदानमा ब्याटिङ रोज्यो। पूरै ५० ओभर खेल्दै नेपालले मात्र ३ विकेट गुमाएर ३ सय रन बनायो।
ओपनिङ ब्याटिङका लागि अनिल मण्डल र सुवास खकुरेल क्रिजमा पुगे। क्रिकेट क्लब कन्फेरेन्स विरुद्धको खेलमा अनिल र ज्ञानेन्द्रले ओपनिङ सम्हालेका थिए। उनीहरुले पहिलो विकेट लागि अर्धशतकीय साझेदारी समेत गरेका थिए। इस्टबर्न विरुद्धको खेलमा भने अनिललाई सुवासले राम्रो साथ दिन सकेनन्। नेपालको स्कोर १९ हुँदा सुवास व्यक्तिगत ६ रनमा आउट भए।
त्यसपछि भने नेपालले सम्हालिएर खेल्यो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषावकरले अनिललाई गतिलो साथ दिए। दोस्रो विकेटका लागि अनिल र शरदले शतकीय साझेदारी गरे। दुवै खेलाडीले अर्धशतक बनाए। अनिलले १ सय १० बल खेल्दै ७ चौकाको मद्दतमा ७३ रन जोडे। यस्तै ५७ बल खेलेका शरदले ६ चौका र १ छक्काको मद्दतमा ६० रन बनाए। त्यसपछि क्रिजमा आएका युवा ब्याट्सम्यान राजु रिजाल र विनोद भण्डारीले शानदार पारी खेले। राजु र विनोदले पनि अर्धशतक पूरा गरे। राजुले ६७ बल खेल्दै ५ चौकाको मद्दतमा ६० रन जोडे।
यसअघिका खेलमा जम्न नसकेको विनोदले इस्टबर्नविरुद्ध विस्फोटक ब्याटिङ गरे। ५३ बलको सामना गरेका विनोदले १२ चौकाको मद्दतमा नेपालका लागि सर्वाधिक ७७ रन बनाए। इस्टबर्नका वाल्टर हुछुले २ तथा मान्सेलले १ विकेट हात पारे।
३ सय १ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपाली बलिङसामु निरीह बने। इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १९ रन बनाउन सक्यो। उसका ३ खेलाडीले मात्र दोहोरो अंक छुन सफल रहे। इस्टबर्नका रवलिन्सले सर्वाधिक ४४ रन बनाए भने पुन्जाले २३ तथा वाट्सले २० रन जोडे। इस्टबर्नलाई कम योगफलमा रोक्न नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। ६ ओभर बलिङ गरेको कामीले २ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए। यस्तै बसन्त रेग्मी र सागर पुनले २/२ तथा विक्रम सोव र शक्ति गौचनले १/१ विकेट लिए। पूरै १० ओभर बलिङ गरेका बसन्तले २ मेडन राख्दै ३१ रन खर्चेर २ विकेट लिएका हुन्।
नेपालले यसअघि ४० ओभरको खेलमा फ्रि फोरेस्टरलाई १ सय २९ रनले, टी ट्वान्टीमा इन्डियन जिमखानालाई २० रनले तथा ५० ओभरको खेलमा क्रिकेट क्लब कन्फेरेन्सलाई ४ विकेटले पराजित गरेको थियो।
नेपालको ब्रिटेनसँग कूटनीतिक सम्बन्ध २ सय वर्ष पुगेको उपलक्ष्यमा नेपालले मंगलबार लर्ड्समा एमसीसीसँग मैत्रीपूर्ण क्रिकेट खेल्दैछ। युके टुरलाई आगामी अगस्टमा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँग हुने खेलको तयारीको रुपमा हेरिएको छ।