PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

इंगल्याण्डलाई लर्डस टेस्टमा हराएपछि पाकिस्तानी खेलाडीको यस्तो सेलेब्रेसन



पहिलोपोस्ट

इंगल्याण्डलाई लर्डस टेस्टमा हराएपछि पाकिस्तानी खेलाडीको यस्तो सेलेब्रेसन

लर्डसमा सम्पन्न पहिलो टेस्टमा इंगल्याण्डलाई ७५ रनले पराजित गर्दै पाकिस्तानले ४ खेलको शृंखलामा १–० को अग्रता बनाएको छ। इंगल्याण्डकै घरेलु मैदानमा शानदार जित हात पारेपछि पाकिस्तानी खेलाडीहरुले अनौठो शैलीमा सेलेब्रेसन गरे।
 
जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड पाकिस्तानी बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि चौथो दिनमै २ सय ७ रनमा अलआउट भयो।
 
पाकिस्तानलाई शानदार जित दिलाउने क्रमा उत्कृष्ट प्रदर्शन गरेका यासिर शाहले ४ विकेट लिए। ३१ ओभर बलिङ गरेका शाहले  ९ मेडन राख्दै ६९ रन खर्चे। पहिलो पारीमा ६ विकेट लिएका शाह म्यान अफ दि म्याच चुनिए।
 
यस्तै पाकिस्तानका राहत अलीले ३, मोहम्मद आमिरले २ तथा वाहव रियाजले १ विकेट लिए। दोस्रो इनिङमा इंगल्याण्ड कुनै पनि खेलाडीले अर्धशतक समेत पूरा गर्न सकेनन्। उसका लागि जोनी बोइस्टोवले सर्वाधिक ४८ रन बनाए भने ग्यारी ब्यालेन्सले ४३ तथा जेम्स भिनसले ४२ रन जोडे। दोस्रो पारीमा पाकिस्तान पनि २ सय १५ रनमा अलआउट भएको थियो। जसमा पाकिस्तानका असद सफिकले ४९ तथा सरफ्राज अहमेदले ४५ रन बनाए। बलिङतर्फ इंगल्याण्डका क्रिस ओक्सले ५ तथा स्टुअर्ट बोर्डले ३ विकेट लिए।
 
पहिलो पारीमा कप्तान मिस्बा उल हकको शानदार शतकको मद्दतमा पाकिस्तानले ३ सय ३९ रन बनाएको थियो। इंगल्याण्डले भने पहिलो इनिङमा २ सय ७२ रन बनाएको थियो। ४२ वर्षमा टेस्ट क्रिकेटमा शतक बनाएका उल हक सबैभन्दा पाका उमेरमा शतक प्रहार गर्ने खेलाडीको सूचीमा छैटौं स्थानमा छन् भने शतक प्रहार गर्ने सबैभन्दा पाका कप्तान समेत बनेका छन्।
 
कप्तान उल हकले पहिलो पारीमा शतक बनाउँदा पनि पुस अप शैलीमा सेलेब्रेसन गरेका थिए। पहिलो टेस्टमा जित हात पारेपछि पाकिस्तानी टीमका सबै खेलाडीले पुन: एकपटक उक्त शैलीमा सेलेब्रेसन गरे।

भिडियोमा हेर्नुस्, पाकिस्तानी खेलाडीहरुको खुसीयाली-


फोटोमा थप दृश्यहरु-






 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell