
युरोपमा व्यावसायीक क्लब फुटबल खेल्ने युरोपियन प्लेअर अफ दि इअरको मनोनयन सार्वजनिक भएको छ। युईएफएका ५५ सदस्य राष्ट्रका पत्रकारहरुले छनोट गरेका खेलाडीहरुबाट शीर्ष दश स्थानमा पर्न सफल खेलाडीको मनोनयन सोमबार सार्वजनिक भएको हो।
हरेक राष्ट्रका पत्रकारले शीर्ष पाँच खेलाडी छान्न पाउने व्यवस्था थियो। त्यसबाट पहिलो स्थानमा रहनेले ५ अंक, दोस्रोमा रहनेले ४ अंक,, तेस्रोमा रहनेले ३ अंक, चौथोमा रहनेले २ अंक र पाँचौमा हरनेले १ अंक प्राप्त गर्ने प्रावधान तय गरिएको थियो।
यसबाट सबैभन्दा बढी अंक प्राप्त गर्ने दश खेलाडी दोस्रो चरणको मतदानका लागि छनोट भएका हुन् जसबाट आगामी अगस्ट ५ मा अन्तिम ३ मा पर्ने खेलाडीको सूची सार्वजनिक गरिनेछ र अगस्ट २५ मा मोनाकोमा हुने युरोपियन्स च्याम्पियन्स लिगको ड्र सार्वजनिक कार्यक्रममा अवार्ड विजेताको घोषणा गरिनेछ।
शीर्ष दशमा पर्ने खेलमा स्पानिस क्लबको वर्चस्व रहेको छ। जसमा रियल मड्रिडबाट सर्वाधिक ४ खेलाडी परेका छन् भने बार्सिलोनाबाट २ तथा एथलेटिको मड्रिडबाट एक खेलाडी पर्न सफल भएका छन्।
यस्तै जर्मन क्लब बायर्न म्युनिखबाट २ र इटालियन क्लब युभेन्ट्सबाट १ खेलाडी शीर्ष दशको मनोनयनमा परेका छन्। सन् २०११ बाट प्रदान गर्न सुरु गरिएको अवार्ड बार्सिलोनाका लियोनल मेसीले सर्वाधिक दुई पटक जितेका छन् भने बार्सिलोनाकै आन्द्रेज इनेष्टा, रियलका क्रिस्टियानो रोनाल्डो र वायर्नका फ्रान्क रिवेरीले एक एक पटक जितेका छन्।
यी हुन शीर्ष १० मा पर्न सफल खेलाडी
- गारेथ बेल, रियल मड्रिड
- जियानलुजी बफोन, युभेन्ट्स
- एन्टोनी ग्रिज्मन, एथ्लेटिको मड्रिड
- टोनी क्रुस, रियल मड्रिड
- लियोनल मेसी, बार्सिलोना
- थोमस मुलर, वायर्न म्युनिख
- मानुएल नोए, वायर्न म्युनिख
- पेपे, रियल मड्रिड
- क्रिस्टियानो रोनाल्डो, रियल मड्रिड
- लुइस सुवारेज, बार्सिलोना