PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

चक्रव्यूह रच्नेलाई प्रमको चेतावनी - जस्तो सोचेको त्यस्तो हुनेछैन



मनोज सत्याल

चक्रव्यूह रच्नेलाई प्रमको चेतावनी - जस्तो सोचेको त्यस्तो हुनेछैन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर धेरै प्रकारको खेल र तमासाको अभ्यास गर्न खोजिए पनि 'जस्तो सोचेको त्यस्तो नहुने' चेतावनी दिएका छन्।  

नेपाल इन्जिनियर्स एशोसिएशनको ५५ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले चक्रव्युह बनाइएको समेत दावी गरे। ‘मलाई प्रधानमन्त्रीबाट हटाइयो भने धेरै प्रकारका खेल तमासा गर्न सकिन्छ भनेर अभ्यास भइरहेको छ’, ओलीले भने, ‘एउटा चक्रव्युह बनाइएको छ। म भन्न चाहन्छु- म र मेरो पार्टी यस देशको लोकतन्त्रप्रति निष्ठा भएको सचेत जनशक्ति मजबुत छन्। जस्तो सोचिएको छ त्यस्तो आउँदैन।‘

कार्यक्रममा प्रधानमन्त्री ओलीले संस्कृतिको श्लोक सुनाउँदै आफूलाई सूर्यसँग तुलना गरे। ‘सूर्य उदाउने खुसीयालीमा पनि रातै भएर उदाँउछ, अस्ताउने दुखियालीमा पनि रातै भएर अस्ताउँछ।‘

ओलीले आफूले कर्तव्य राम्रोसँग बुझेको समेत बताए। ‘कसैले प्रशंसा गर्दा फुरुङ्ग पर्ने, कसैले आलोचना गर्दा खस्रक पर्ने गर्‍यो भने मैले काम नै गर्न सक्दिन’, उनले भने, ‘ट्विटर र फेसबुक अनि अनलाइनमा कमेन्ट पढ्दा पढ्दै मेरो जिन्दगी जान्छ।‘

उनले आफू देश र जनतालाई शिरमा राखेर लोकतान्त्रिक विधिबाट अगाडि बढ्ने बताए। ‘संविधानसम्मत् ढंगले अगाडि बढ्नुपर्छ तर संविधानको ब्याख्या अनुसार कसैको ब्याख्या अनुसार चल्ने होइन। व्यवस्था अनुसार चल्छु।‘ 

उनले अविश्वासको प्रस्तावलाई देशविरुद्ध भएको षड्यन्त्रको रुपमा अर्थ्याए। ‘सरकार अल्ममतमा पर्‍यो भन्ने अनुमान हो। पर्‍यो कि परेन भन्ने प्रकट हुने विधि छ’, उनले भने, ‘यो देशका लागि यो कदम चालेको भए स्यालुट गरेर छाड्थेँ। देशका विरुद्धका भएको षड्यन्त्र भएकाले स्यालुट गरेर छाड्दिनँ।‘ 

अविश्वासको प्रस्ताव राखेपछि राजीनामा किन?

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव राखेपछि किन राजीनामा मागेको भन्दै आफूले सोधेको बताए। ‘मैले साथीहरुलाई भनेँ- तपाईँहरुले राजीनामा मागेको कि अविश्वासको प्रस्ताव राखेको?  अविश्वासको प्रस्ताव राखेको हो भने संसदमा राखेपछि, त्यसको फैसला खोजेपछि फेरि राजीनामा गर्दिनुस् न किन भनेको?’
 
उनले आफूले संसद विघटन नगर्ने बताए। ‘खेलको मैदान नै मासेपछि कहाँ खेल्ने? मैदान मास्न सकिँदैन’, संसदलाई खेल मैदानको रुपमा अर्थ्याउँदै उनले भने। 

धर्ती छाड्न तयारलाई कुर्सी छाड्न कत्रो कुरा!

उनले संविधान निर्माण गर्दा प्रधानमन्त्री हटाउने खालको व्यवस्था नगरिएको बताए। ‘संविधान बनाउँदासम्म कांग्रेसले नेतृत्व गर्ने र संविधान बनाएपछि एमालेले नेतृत्व गर्ने भन्ने सहमति भएको थियो। संविधानमा पनि त्यस्तै लेखिएछ, हटाउने खालको व्यवस्थै भएन। त्यो धारणा नै त्यही थियो संविधान बनाउँदा’, उनले भने, ‘व्यवस्था नै त्यस्तो गर्दियो।‘

उनले आफूलाई पदमा रहिरहन मन रहेछ भन्ने भ्रम नराख्न समेत आग्रह गरे।
 
‘उहिल्यै धर्ती छाड्न तयार मान्छेलाई एउटा कुर्सी छाड्न कत्रो कुरा हो। म धर्ती छाड्न तयार छु अनि कुर्सी त्यो कुनै ठूलो कुरा होइन’, ओलीले भने। तर आफूले कुनै षड्यन्त्र सफल पार्नकै लागि राजीनामा नदिने बताए। 

‘जसलाई जतिबेर जस्तो चाहियो, जसले जस्ता खालका षड्यन्त्र गर्छन्, त्यो षड्यन्त्र सफल पारिदिने मेरो कर्तव्य होइन’, ओलीको तर्क थियो।

माओवादी फुटबल

ओलीले माओवादीलाई फुटबलसँग तुलना गरे। उनले सरकार बनाएका बेला माओवादीसँग चुनावसम्मका लागि १४ बुँदे सहमति गरेको बताए।
 
‘फूटबलको जातमा हावा हालेपछि, ड्वाङ् पारेपछि उफ्रिहाल्छ। एउटाले हावा हाल्दियो। कुनै एग्रिमेन्ट होइन। जुन-जुन कुरा सहमति (तीन बुँदे) भनियो, त्यो होइन। म खुल्ला पुस्तक जस्तो हुँ’, ओलीले भने। उनले राष्ट्रिय राजनीतिलाई द्वन्द्व र भिडन्ततर्फ लैजान नहुने आफ्नो मान्यता रहेको बताए।

​(समाचारमा फाइल फोटो प्रयोग गरिएको हो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell