
काठमाडौं : आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेको भोलिपल्दै प्रधानमन्त्रीले सभामुखलाई बोलाएर आफ्ना अडान प्रस्तुत गरेका छन्।
बिहान आफ्नै निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई बजेट पास गर्ने कार्यसूची रोकिएकोमा प्रश्न गरे। 'असार मसान्तसम्म पास गर्नेुपर्ने बजेट विधेयकको कार्यसूची सभामुखले मिचेको' भन्दै उनी असन्तुष्ट छन्।
सभामुखलाई उनले नियमसंगत तरिकाले पहिले बजेट पास गरेर मात्रै अविश्वासको प्रस्तावमा जानुपर्नेबारे अवगत गराएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए। उनका अनुसार सबैको सहमति जुटाउन परामर्श गरिने सभामुखले बताएकी थिइन्।
प्रधानमन्त्रीले संसदीय परम्परा, अभ्यास र सभामुख पदको मर्यादालाई ध्यान दिई बजेटसम्बन्धी कार्यसूचीलाई प्राथमिकतामा राख्न आग्रह गरेको अधिकारीले जानकारी दिए।
सभामुख घर्तीले दलहरुबीच सहमति नभएको भन्दै बजेटका आश्रित तीन विधेयक पास गर्ने कार्यसूची रहे पनि सूचना टाँस गरेर बैठक स्थगित गर्दै साउन ६ गते अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची सार्वजनिक गरेकी थिइन्।
असार २९ गते माओवादी केन्द्र र कांग्रेस सहितका दलले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि संसद बैठक बस्न सकेको छैन। सोही दिन आर्थिक विधेयक, २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक २०७३ माथि छलफल गर्ने कार्यसूची थियो।
प्रधानमन्त्री ओलीले हिजैमात्र आफूविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्र र कांग्रेसका शीर्ष नेतालाई बजेटमा आश्रित विधेयकहरु पास नगरी अविश्वास प्रस्ताव अघि बढ्न नसक्ने अडान पेस गरेका थिए।