
काठमाडौं : युके टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीम यति बेला महत्वपूर्ण घडीको पर्खाइमा छ। ब्रिटेनसँग कूटनीतिक सम्बन्ध २ सय वर्ष पूरा भएको अवसरमा नेपाली क्रिकेट टीमले आज लर्डसमा मेरिलेबोन क्रिकेट क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
विश्वका हरेक खेलाडीको चाहना हुन्छ, एकपटक लर्डमा क्रिकेट खेल्ने। नेपाली क्रिकेट खेलाडीलाई पनि यो मौका जुरेको छ। लर्डमालाई क्रिकेटको मक्का समेत भनिन्छ, त्यसैले त्यहाँ खेल्न पाउनु आफैंमा नेपाली खेलाडीको लागि भाग्य समेत बनेको छ।
नेपालले विश्वकै पुरानो क्लब एमसीसीसँग लर्डसमा ५० ओभरको खेल खेल्नेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
एमसीसीसँग खेल्नुअघि नेपाली टीमको मनोबल उच्च छ। नेपालले युके टुरमा यसअघि खेलेको चार वटै अभ्यास खेलमा जित हासिल गरेको थियो। युके टुरलाई नेपालले आगामी अगस्टमा वर्ल्ड क्रिकेट लिग चयाम्पियन्स अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध हुने खेलको तयारीको रुपमा समेत हेरिएको छ। नेपाल गत असार २७ गते युके गएको थियो।
एनटिभी प्लसमा लाइभ
युकेको लर्डसमा हुने उक्त खेल एनटिभी प्लसले लाइभ प्रशारण गर्ने भएको छ। एनटिभीमा कार्यरत देवेन्द्र सुवेदीले नेपाल र एमसीसीको खेल लाइभ गर्ने जानकारी दिएका हुन्। एमसीसीसँग लाइभ प्रशारण गर्नेबारे हिजै रातिमात्र सम्झौता भएको उनले पहिलोपोस्टसँग बताए। लाइभ हेर्न पाइने भएपछि नेपाली क्रिकेट समर्थक र दर्शक पनि उत्साही भएका छन्।लर्डसमा खेल्दैछन् यी भाग्यमानी खेलाडी
लर्डसमा एमसीसीसँग खेल्न यो पटक १५ नेपाली खेलाडी भाग्यमानी बनेका छन्। कप्तान पारस खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, सागर पुन, अनिल मण्डल, सुवास खकुरेल, सन्दिप लामिछाने, राजु रिजाल, करण केसी, राजेश पुलामी मगर र विक्रम सोब रहेका छन्।यस्तै एमसीसीको कप्तानी काउन्टी क्रिकेट समरसेटका पूर्वखेलाडी किथ डचले गर्दैछन्। डचसँगै एसमीसीको टोलीमा ग्लेन फिलिप्स, जेम्स ओभरे, क्लिन्टन पेरेन, माइक कोल्स, स्टिभ क्लार्क, जर्ज एडइर, रिचर्ड विलकिनसन, चार्ड बारेट, मार्क रेइनगोल्ड र एलेकस सेनेक छन्।