PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

भाइकै साथीबाट ठगिइन् दिदी, जागिर लगाइदिने भन्दै अढाइ लाख झ्वाम



सविन ढकाल

भाइकै साथीबाट ठगिइन् दिदी, जागिर लगाइदिने भन्दै अढाइ लाख झ्वाम

काठमाडौं : शैक्षिक योग्यताको प्रमाणपत्र हातमा भए पनि सिर्जना अधिकारीलाई जागिर पाउन हम्मेहम्मे परेको थियो। जागिरका लागि धेरै ठाउँ धाए पनि उनले सोचेजस्तो कतै भएन। बेरोजगार हुनुको पीडाले भित्रभित्रै गल्दै गइन् उनी।
 
जसरी भए पनि जागिर खानु थियो उनलाई। सकेसम्म लोकसेवा पढेर सरकारी जागिर, नभए निजी कम्पनीमै किन नहोस्।
 
जागिरको खोजीमा दिदी भौंतारिइरहेको भाइ सुरजलाई थाहा थियो। उनी बुझ्न सक्थे, दिदीको बेचैनी र छटपटी। यही बुझेर दिदीलाई राम्रो ठाउँमा जागिर लगाइदिन धेरै कोसिस गरे तर उनले पनि हार खाए।
 
एक दिन ढुंगा खोज्दा देउता मिलेजस्तै भयो उनीहरुका लागि। सुरजका साथी २५ वर्षीय दीपक ठाकुर भरखरै मात्र नेपाल आयल निगमको थानकोट डिपोमा जागिरे भएका थिए। दीपकले आयल निगममा जागिर खान न त लोकसेवा पास गरे, न त कसैलाई सोर्सफोर्स नै लगाए। जागिरका लागि फाराम नभरेका उनले लिखित वा अन्तरवार्ता दिने कुरै भएन। तर उनी 'सरकारी' जागिरे भएका थिए। सुरजलाई दंग पर्दै आफू सरकारी जागिरे भएको खबर सुनाएका थिए।
 
साथी अचानक जागिरे भएको थाहा पाउँदा सुरजलाई शंका नलागेको होइन तर दीपकले नियुक्तिपत्र नै देखाएपछि भने उनी निश्चिन्त बने।
 
आखिर लोकसेवा परीक्षा नै नदिई कसरी जागिरे बने त दीपक?
 
सुरजमा जिज्ञासा बढ्यो। पछि दीपकले खुलाए, 'पैसा पेल्न सके केको लोकसेवा, ५ लाख रुपैयाँ नदिएको भए म कहाँ जागिरे हुन्थेँ र। बरु चिनेको मान्छे कोही जागिर खाने छ भने मलाई भन।'
 
उनको यो प्रस्तावपछि सुरज झसंग भए। सोचे- दिदीका लागि यो राम्रो मौका हो। दीपकसँगै कुरा मिलाएर दिदीलाई जसरी भए पनि जागिर लगाइदिनैपर्छ।
 
दीपकको जस्तै प्रक्रिया सुरु भयो सिर्जनाका लागि पनि। पाँच लाख दिने सर्त बमोजिम किस्ता किस्तामा उनले अर्का व्यक्ति दीपेन्द्र शाहको खातामा दुई लाख ५६ हजार रुपैयाँ जम्मा गरिदिइन्।
 
रकम जम्मा भएको केही समयपछि नै सिर्जनाको हातमा पर्‍यो- नेपाल आयल निगमको नियुक्तिपत्र।
 
बल्ल उनको लामो प्रतीक्षाको घडी समाप्त भएको थियो। उनी नियुक्तिपत्र बोकेर सप्तरीबाट थानकोट कार्यालयमा आइन्।
 
जब कार्यालयमा आएर पत्रसहित आफ्नोबारे जानकारी गराइन्, तब उनीमाथि बज्रपात आइपर्‍यो। कार्यालयका कर्मचारीले पुष्टि गरे- उनले पाएको नियुक्तिपत्र नक्कली हो।
 
दीपक ठाकुर र दीपेन्द्र शाहलाई उनले सम्पर्क गर्न खोजिन्, धेरै समयसम्म उनीहरु सम्पर्कमै आएनन्। बल्ल उनले आफू ठगिएको महसुस गरिन् र तत्काल प्रहरीमा उजुरी दिइन्।
                        
प्रहरीले ठगी गर्ने दुवैलाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी निरीक्षक गोविन्द पन्तका अनुसार यही खालको ठगीधन्दा पछिल्लो बढेको छ। उनका अनुसार आफू ठगिएको भन्दै उजुरी गर्न आउनेको संख्या महिनामा २० जनासम्म पुग्ने गरेको छ।

(suggestions.com बाट यो प्रतीकात्मक फोटो प्रयोग गरिएको हो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell