PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

बालुवाटारमा 'सेतो पोसाकधारी' र 'बर्दीधारी'बीच घम्साघम्सी, यसरी समातिए १२ जना

बालुवाटारमा 'सेतो पोसाकधारी' र 'बर्दीधारी'बीच घम्साघम्सी, यसरी समातिए १२ जना

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं :  चिकित्सा क्षेत्रमा सुधार लगायतका माग राखी डा. गोविन्द केसी आठौं अनसनको दसौं दिनमा छन् आज। उनका मागप्रति सरकार मौन रहेको भन्दै विभिन्न क्षेत्रबाट उनको समर्थनमा र्‍याली, जुलुस र सरकारविरुद्ध नाराबाजी पनि भएका छन्।
 
त्रिवि शिक्षण अस्पताल परिसरमा आमरण अनसन बसिरहेका उनको समर्थनमा चिकित्सक र विद्यार्थीहरुको र्‍याली आजै बिहान अस्पतालबाट निस्कियो र सोझियो- बालुवाटार। त्यहीँ बस्छन् प्रधानमन्त्री केपी शर्मा ओली।
 
केसीका मागबारे प्रधानमन्त्रीलाई घचघच्याउन पुगेका उनीहरुले 'तपाईंलाई जनताले चुनेको कि माफियाले?', 'खानचाहिँ डराउने बोल्नचाहिँ किन?', 'माफियाको मिसन-सिटामोलमा पनि कमिसन' लेखिएका प्लेकार्ड बोकेका थिए।
 
बालुवाटार पुग्नासाथ उनीहरु नाराबाजीमा उत्रिए। बिस्तारै उनीहरुको भिड निषेधित क्षेत्र नजिकै पुग्यो। सुरक्षाकर्मी अघि नबढ्न भनिरहेका थिए। तर उनीहरुको जोस रोकिएन, काँडेतार हटाउन उनीहरुका हात अघि बढे। सुरक्षाकर्मीले रोक्न खोज्दा केहीबेर घम्साघम्सी नै पर्‍यो।
 
अन्तत: भिड थाम्न नसकेपछि प्रहरीले धमाधम उनीहरुलाई भ्यानमा कोच्न थाल्यो। समातिएका १२ जना चिकित्सक र विद्यार्थी अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा छन्।


ट्रेन्डिङ पोस्ट

Ncell