PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

९ पटक खोज्दासमेत सभामुखले भेट्न सकिनन् प्रधानमन्त्री, कसले तेर्स्यायो तगारो?



मनोज सत्याल

९ पटक खोज्दासमेत सभामुखले भेट्न सकिनन् प्रधानमन्त्री, कसले तेर्स्यायो तगारो?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको भेटमा ‘तपाईंले मलाई किन पहिल्यै नभेटको’ भन्दै सभामुख ओनसरी घर्तीलाई जिज्ञासा राखे। गत असार २९ गते संसद बैठकमा अविश्वासको प्रस्ताव दर्ता भएदेखि प्रधानमन्त्री ओली र सभामुख घर्तीबीच भेटवार्ता भएको थिएन।
 
प्रधानमन्त्री ओली सभामुखले सरकारले दिएको विजनेश अनुसार बजेटका आश्रित विधेयक अगाडि नबढाएकोमा असन्तुष्ट थिए।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार इन्जिनियर्स एशोसिएसनको कार्यक्रममा ‘२९ गते ११ बजे के कारणले बैठक बसेन?’ भन्दै प्रश्न गरेका थिए।

'३ बजेसम्म सर्‍यो अनि २ बजेर ४० मिनेटमा अविश्वासको प्रस्ताव दर्ता भयो। यसको कनेक्सन बुझ्नुहुन्छ नि तपाईंहरुले? ३ बजे बस्ने भनेको ५ बजेसम्म नबसेपछि अर्को दिन स्वत: सर्ने अनुसार सर्‍यो,' प्रधानमन्त्रीले सभामुखको भूमिकामा शंका व्यक्त गर्दै भनेका थिए, 'यस्तोमा समय नभ्याउँदा भोलिपल्ट आउनुपर्छ तर ३१ गते सर्‍यो। ३१ गते तोकियो तर बसेन। ६ गतेलाई सारियो। सरकारको विषय छलफल पनि भएन त्यो राष्ट्रको विजनेश हो।'
 
तर मंगलबार बिहान सभामुख घर्तीले आफ्ना प्रयासहरु बताएपछि पहिल्यै किन आफूसँग नभेटको भन्दै प्रधानमन्त्रीले सोधेको घर्तीले बताइन्।
 
प्रधानमन्त्रीसँग समय लिएर बालुवाटार पुगेकी घर्तीलाई प्रधानमन्त्री ओलीले बजेटका विधेयक अगाडि नबढाएर संसद बैठक स्थगित गरेकोमा आपत्ति प्रकट गरेका थिए। घर्तीले भने आफूले विधेयक पास गर्न सक्दो पहल गरेको जवाफ दिएकी थिइन्।
 
घर्तीले मंगलबार अनलाइन पत्रकारहरुसँगको भेटमा भनिन्, 'प्रधानमन्त्रीलाई त आधा मात्रै रिपोर्ट गरिएको रहेछ। उहाँलाई भेट्न मैले कार्यकक्षमा ९ पटकसम्म मान्छे पठाएँ। आइराख्नुभएको छ, आउनुहुन्छ भनियो। मैले आधा घन्टा प्रधानमन्त्रीलाई कुरेँ। त्यो त उहाँलाई भनिएकै रहेनछ।'
 
संसद भवनमा प्रधानमन्त्रीका लागि कार्यकक्षको व्यवस्था गरिएको हुन्छ। अनि दलका तर्फबाट सभामुखसँग निरन्तर परामर्श प्रमुख सचेतकमार्फत हुन्छ। एमालेका तर्फबाट प्रमुख सचेतक छन्, भानुभक्त ढकाल।
 
‘मैले पो भेट्न नखोजेको जस्तो भयो। जबकि आधा घन्टा कुरेँ। उहाँहरुले मलाई भेट्नै दिनुभएन। कार्यक्रम सकेर आउनुहुन्छ भन्नुभयो अरु नेताहरुलाई भेटेँ। कार्यकक्षमा कतिखेर आउनुहुन्छ भनेर सोधिरहेँ। उहाँहरुले आउनुहुन्छ भनेर ११, १२, १, २, ३ बजेसम्म… यसरी गुम्यो। प्रधानमन्त्री आउनुभएन।'
 
गत २९ गते संसदको ११ बजेको बैठक ३ बजेका लागि सारिएको थियो। सभामुख घर्तीका अनुसार ३ बजेसम्म उनले प्रधानमन्त्रीलाई कुरेकी थिइन्।
 
उनले अविश्वासको प्रस्ताव दर्ता भएपछि पनि आफूले हाउस चलाउन खोजेको बताइन्। त्यसरी हाउस चलाउँदा पूर्वप्रधानमन्त्री वा पूर्वसभामुखलाई बोल्न दिने प्रस्ताव उनको थियो।
 
प्रधानमन्त्री नआएकाले घर्तीले 'एमालेका तर्फबाट कसले बोल्ने?' भन्दै सोधेकी थिइन्।
 
‘उहाँको तर्फबाट कसले बोल्नुहुन्छ भन्दा प्रमुख सचेतकले म बोल्छु भन्नुभयो। जे भए पनि राजीनामा नगर्ने भनेर भन्नुभयो,' घर्तीले संसद भवनको आफ्नो कार्यकक्षमा भएको कुराकानी सुनाइन्।
 
लगत्तै राजीनामा नगर्ने भनेपछि संसद चल्न नदिने भन्दै कांग्रेस र माओवादी केन्द्रका नेताहरु आफ्नो कार्यकक्षमा आएर ठूलो स्वरमा कराएको घर्तीको भनाइ छ।
 

पूर्वाग्रही नहोऔं

घर्तीले दलहरुबीच एक-अर्काप्रति शंका भएका कारण अहिले कानुनी समस्या देखिएको बताइन्। तर आफूले प्रक्रियागत समस्या समाधानका लागि दलहरुको साथ खोजेको उनको तर्क छ।
 
‘मेरो माउ पार्टी माओवादी हो, राष्ट्रपतिको माउ पार्टी एमाले हो, हामीलाई त्यही आँखाले हेर्‍यो भने के हुन्छ? आज त हामी राष्ट्रको जिम्मा लिएर हिँडेका छौँ,' घर्तीले भनिन्, अनि प्रधानन्यायाधीशलाई के भन्ने हो?’
 
उनले पदीय दायित्य र जिम्मेवारी निर्वाह गर्ने बेला दलीय रुपमा हेर्न नहुने तर्क गरिन्। ‘एजेण्डामा सहमति नहोला तर उहाँहरुले प्रक्रियामा सहमति गर्नुपर्‍यो,' उनले भनिन्।  
 
उनले संसद बैठक गत २९ गते नबस्नुमा ‘हामी सरकारबाट बाहिरिएका छौं राजीनामा गरे अजेण्डामा जान्छौं नत्र जान्नौं भनेर कांग्रेस र माओवादी लगायतले भन्नु प्रमुख कारक' रहेको बताइन्।
 
‘फेल गरेर के गर्नुहुन्छ भनेर बाझियो,' घर्तीले आफ्नो तत्कालीन भूमिका सम्झिइन्।
 
उनले जेठ ३१ सम्म दलहरुबीच सहमति नभएकै कारण आफूले बैठक १ गते राख्नु र ६ गतेपछि बस्नुको अन्तर नभएकाले अविश्वासको प्रस्तावको छलफल पहिला गराउने निर्णय लिएको भन्दै स्पष्ट पारिन्।  
 
२९ गतेको बैठक नबसेपछि अर्को बैठकको मितिका विषमया छलफलका लागि राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरी र एमाले सचेतक भानुभक्त ढकाललाई डाकेको भए पनि रिसाएर नआएको समेत सुनाइन्।
 
 

सहमति नभए ६ गते के हुन्छ?

आफूले ६ गते छलफलका लागि मिति तोके पनि दलहरुबीच सहमति भए अविश्वासको प्रस्तावबारेको छलफल सार्न सक्ने सभामुख घर्तीको भनाइ छ।
 
‘निकास ल्याउनुभएन भने म बाध्य छु, कदम चाल्छु। तपाईंहरु शीर्ष नेतृत्वले प्रक्रियामा मिल्न तयार हुनुपर्‍यो। सहमतिमा जाने हो भने म तयार नै छु,’ उनले भनिन्, ’राजनीतिक दलले सहमति गरेन भने म ६ गते प्रक्रिया थाल्छु।'

सम्बन्धित समाचार-
संसद बैठक स्थगित : बेल बज्न लाग्दासमेत किन रोकियो बैठक?
किन बसेन बुधबार संसद बैठक? सभामुखले दिइन् ६ कारण
प्रधानमन्त्री ओलीलाई गलाउने कांग्रेस-माओवादी रणनीति



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell