
काठमाडौं : संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद बनाइएजसरी नयाँ सरकार गठन गर्न सकिने सुझाव दिएका छन्।
‘अहिलेको समस्या संवैधानिक नभई राजनीतिक समस्या भएकाले त्यही अनुसार सहमति खोजिनुपर्छ,' राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै संयोजक यादवले भने, 'खिलराज रेग्मी संविधानको कुन धाराअनुसार अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष भएका थिए त?'
वर्तमान संविधान प्रयोग गर्न लायकको नभएको भन्दै उनले २९८ धारा 'प्राक्टिस गर्न लायक नभएको' बताए।
‘ओलीले राजिनामा नदिएर लफडा गरे उनी पनि डुब्छन्, पार्टी पनि भड्खालोमा जान्छ,' यादवले भने, 'त्यो बाटोमा जानुभन्दा राजीनामा दिए राम्रो।'
प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव पारित भए पनि नयाँ सरकार तत्काल बन्नै नसक्ने दाबी गरिरहेका छन् नि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले थपे, ‘राजाले राज्य छाड्नुपर्छ भनेर कुन संविधानमा लेखिएको थियो र, जनताले चाह्यो भने जे पनि हुन्छ, देश र जनता नै ठूलो हो।’
उनले कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा आफूहरु सहभागी नहुने दाबी गरे। ‘सरकारमा जानेको कमी छैन, हामी हतारमा छैनौं, सरकारमा जान लालायित पनि छैनौं,' उनले भने।