PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

प्रधानमन्त्री 'कांग्रेसभित्र छिद्र खोज्ने प्रयासमा' : पौडेल, सिटौला र सिंहसित एक्लाएक्लै भेट



रमेश वाग्ले

प्रधानमन्त्री 'कांग्रेसभित्र छिद्र खोज्ने प्रयासमा' : पौडेल, सिटौला र सिंहसित एक्लाएक्लै भेट

काठमाडौः  प्रधानमन्त्री केपी ओलीविरुद्ध नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मिलेर अविश्वास प्रस्ताव संसदमा लगेको छ। अविश्वास प्रस्तावसँगै नेकपा एमालेका सांसद् र केही कानुन व्यवसायीले वर्तमान प्रधानमन्त्री बर्खास्त हुन सक्ने तर अर्को सरकार गठन हुन नसक्ने तर्क गरिरहेका छन्।

यही मौकामा प्रधानमन्त्री केपी शर्मा ओली भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेताहरुलाई बोलाएर छुट्टाछुट्टै भेटिरहेका छन्। सरकार परिवर्तनको गृहकार्यकै समयमा नेताहरुको लगातारको भेटले कांग्रेसभित्र अनौपचारिक रुपमा नेताहरुको शैलीबारे टिप्पणी सुरु भएको थियो। तर त्यसले औपचारिकता नपाउँदै कांग्रेसका नेताहरुले केन्द्रीय समितिमा स्पष्टीकरण दिएका छन्।

'ओलीजीले हामीलाई पटक पटक बोलाएर मैले उहाँसँग भेट गरेको हुँ। शायद उहाँले कांग्रेसभित्र छिद्र भेटिन्छ कि भनेर प्रयास गर्नुभएको हुनसक्छ' मंगलबारको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, 'मसँगको भेटमा उहाँले संविधानको कुन धारा अनुरुप नयाँ प्रधानमन्त्री चुन्नु हुन्छ भन्दै प्रश्न राख्नुभएको थियो।'

उनले आफूले अविश्वास प्रस्तावबाट प्रधानमन्त्री हटाई सकेपछि जुन धाराले हटाउने हो त्यही धारा अनुरुप अर्को प्रधानमन्त्री चयन हुने जवाफ दिएको बताए। उनले प्रधानमन्त्रीमा बहाल रहेको व्यक्तिले पटपक पटक भेटन आग्रह गरेपछि स्वभाविक रुपमा आफू बालुवाटार पुगेर भेट गरेको स्पष्टीकरण दिएका थिए।
 
बैठकमा वरियता क्रमका आधारमा बोल्ने पालो पहिले आएका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीसँगको भेटबारे जानकारी दिएपछि अर्का नेता प्रकाशमान सिंहसँगै वरिष्ठ नेता पौडेलले पनि स्पष्टीकरण दिएका थिए।

सिटौलाले आफूलाई प्रधानमन्त्रीले पटक पटक गरेर बोलाएपछि एक दिन साँझ साढे सात बजेदेखि आठ बजेसम्म भेट गरेको बताए। 'मसँगको भेटमा प्रधानमन्त्रीले संविधानको व्यवस्थालाई स्वीकार गर्ने विषय मात्र राख्नुभएको थियो' सिटौलाले भने, 'उहाँले अविश्वासबाट हटेपटि पदमा बसिरहन्छु भन्ने कुरा मसँग गर्नुभएको छैन।' सिटौलाले संविधानमा अविश्वास प्रस्तावको स्पष्ट व्यवस्था रहेको र अविश्वास प्रस्ताव पारित भएपछि स्वतः पदमुक्त हुने व्यवस्था गरेकाले केही कानुन व्यवसायीको तर्कको पछि लाग्नु जरुरी नभएको पनि बताए।

नेता प्रकाशमान सिंहले पनि प्रधानमन्त्रीले पटक-पटक बोलाएर आफू भेटका लागि गएको भन्दै प्रधानमन्त्रीको उद्देश्य कांग्रेसभित्र कुनै विभाजन छ कि भन्ने नै हुन सक्ने बताए। 'उहाँले सिधा कुनै प्रस्ताव त गर्नुभएन तर उहाँको लक्ष्य कांग्रेसभित्र खेल्ने ठाउँ छ कि छैन भनेर बुझ्ने हो जस्तो मलाई लाग्छ' सिंहले भने, 'तर हाम्रो पार्टीमा अविश्वास प्रस्तावले हटाउने र नयाँ सरकार गठनका विषयमा कुनै मतभेद नरहेको कुरा मैले राखे।'

'एमालेसँग दुस्मनी गरेर संविधान कार्यान्वयन हुँदैन'       

बैठकमा कांग्रेस नेतृ सुजाता कोइरालाले भने एमालेसँग दुस्मनी गरेर संविधानको कार्यान्वयन संभव नभएको भन्दै एमालेसैँगै मिलेर अघि बढ्नुपर्ने बताइन्।  

'माओवादीसँग मिलेर सरकार बनाउँदा राम्रो सन्देश पनि जाँदैन र संविधान कार्यान्वयन पनि हुन गाह्रो हुन्छ' कोइरालाले भनिन्, 'त्यसकारण संविधान कार्यान्वयन नहुँदासम्म एमालेसँगै मिलेर जानुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell