PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​के भोलिको संसदमा अविश्वासको प्रस्ताव माथिको छलफल रोकिएला?



पहिलोपोस्ट

​के भोलिको संसदमा अविश्वासको प्रस्ताव माथिको छलफल रोकिएला?

काठमाडौँ : सभामुख ओनसरी घर्तीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेट गरी संसदको कार्यसञ्चालनमा सहयोग मागेकी छिन्।

प्रमुख तीन दलबीच द्वन्द्वको अवस्था आएपछि घर्तीले संसदको प्रक्रियामा सहमतिमा पुग्न आग्रह गरेकी हुन्।

सत्तारुढ नेकपा एमालेले बजेटका आश्रित विधेयक अगाडि नबढाई संसदमा अविश्वासको प्रस्ताव अगाडि बढाइए प्रतिवाद गर्ने तयारी गरेपछि सभामुख घर्ती सक्रिय भएकी हुन्।

एमाले र राप्रपा नेपालले संसदमा सरकारको बिजनेस अगाडि नबढाएको भन्दै सभामुखको समेत आलोचना गर्दै आएका छन्।

घर्तीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी संसदको प्रक्रियामा सहमतिका लागि आग्रह गरेकी थिइन्। उनले दलहरुबीच सहमति भए अविश्‍वासको प्रस्तावमाथिको छलफल पछाडि सार्न सकिने र सहमति नभए अविश्वासको प्रस्ताव अगाडि बढाउने बताएकी थिइन्। मंगलबार नै अनलाइन पत्रकारहरुसँगको भेटमा समेत घर्तीले शीर्ष नेताहरुले निकास ननिकाले आफूले कदम चाल्ने बताएकी थिइन्।

‘निकास ल्याउनुभएन भने म बाध्य छु, कदम चाल्छु। तपाईंहरु शीर्ष नेतृत्वले प्रक्रियामा मिल्न तयार हुनुपर्‍यो। सहमतिमा जाने हो भने म तयार नै छु, राजनीतिक दलले सहमति गरेन भने म ६ गते प्रक्रिया थाल्छु,' घर्तीले भनेकी थिइन्।

संसदको बैठकमा भोलि अविश्वासको प्रस्ताव माथि छलफल हुने सूचना असार ३१ गते नै संसद सचिवालयले प्रकाशित गरिसकेको छ। घर्तीले सहमति भए मिति सार्न सकिने बताएकी छिन्।

 

के भने प्रचण्ड र देउवाले?

भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख दलहरुबीच छलफल जारी रहेकाले सहमतिको सम्भावना रहेको बताएका थिए। सोमबार साँझ प्रधानमन्त्री निवासबाट देउवा सहित छलफलबाट बाहिरिने क्रममा समेत प्रचण्डले सहमतिका लागि थप छलफल गर्ने बताएका थिए।​


 भेटमा सहभागी सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्मा बबिनले दुवै नेतालाई आपसी सद्भाव कायम राख्न आग्रह गरेकी थिइन्। ‘सहमतिको आधारमा संसद चलाउने वातावरण तयार पार्नुपर्‍यो भन्नुभयो’, घर्तीलाई उदृत गर्दै उनले भने, ‘हामी हाम्रो ठाउँबाट प्रयास गर्छौँ।‘

फोटो : प्रचण्डको सचिवालय र बविन शर्माको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell