PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

अस्पतालबाट डिस्चार्ज्ड हुँदा पनि शशांकमाथि नारावाजी!



रमेश वाग्ले

 अस्पतालबाट डिस्चार्ज्ड हुँदा पनि शशांकमाथि नारावाजी!

काठमाडौं : कालोसेतो सरोबर भएको पातलो कपाल। मुखमा मास्क। उज्यालो पहेलो रंगको टि-सर्ट अनि हातमा सफा व्याण्डेज। डाक्टर शशांक कोइराला मृत्यु जितेर ओम अस्पतालबाट बाहिरिँदै गर्दाको हुलिया हो यो।

डाक्टर कोइराला अस्पतालबाट डिस्चार्ज्ड हुने भएपछि मिडिया उपस्थित नहुने कुरै थिएन। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको पनि बाक्लै उपस्थिति थियो अस्पताल परिसरमा।

बिहान साढे नौ बजे डिस्चार्ज्ड हुने जानकारी थियो जसले भिडभाड बनाएको थियो। कोइरालाप्रति सद्‍भाव राख्नेदेखि नजिकिँदै गरेको नेविसंघ, तरुण दल, महिला संघसहितका कांग्रेस भ्रातृ संगठनको महाधिवेशनमा पदाधिकारीका आकांक्षी पनि आफ्नो 'लाइन देखाउने अवसर'को प्रयोग गर्न अस्पताल परिसर पुगेका थिए।

सबै पक्षको उपस्थितिले अस्पतालमा भिडभाड थियो। करिब पौने दश हुनैलाग्दा खाइलाग्दो शरीर भएका हाफ प्यान्ट टि-सर्ट र क्याप लगाएका एक व्यक्ति भिडको बीचमा देखिए। बुझ्दा उनी शशांकका ज्वाइ अनिल रहेछन्। उनको नजिकमा सानो खिरिलो शरीरकी युवती पनि थिइन्। उनी रहिछन् - कोइरालाकी छोरी सुप्रिया।

कोइरालालाई निकाल्दै गर्दा ओम अस्पतालमा कार्यरत डाक्टर सुपात्रा अघि लागेर सबैलाई पन्छाउँदै बाटो 'क्लियर' गर्दै थिइन्। सुपात्रा कोइरालाकी पत्नी हुन्।
कोइरालाको हात समाउँदै उनको उपचारमा संलग्न नभएका डाक्टर भोला रिजाल पनि झुल्किए भिडमा। डाक्टर गोविन्द केसीविरुद्ध अभिव्यक्ति दिएर 'वद्‍नाम' भएका डाक्टर रिजाल यहाँ आफ्नो धमिलिएको इमेज 'पखाल्न' आएको प्रस्टै देखिन्यो। शशांकको दायाँतिर थिए अर्का डाक्टर हरिश जोशी। उनी ओम अस्पतालका निर्देशक हुन्।
 
कोइराला बाहिर निस्किएपछि गाडी चढ्नुअघि क्यामेरतर्फ हेरेर व्याण्डेज लगाएको हात हल्लाए। उनीसँगै धेरैजसो कार्यकर्ताले पनि हात हल्लाए र डाक्टर 'शशांक कोइराला जिन्दावाद' 'डाक्टर शशांक हाइ हाइ' भन्दै नारावाजी गरे। कोइराला पत्नी सुपात्रा छोरी सुप्रिया र ज्वाई अनिलसहित उनको रातो गाडी अघि बढ्यो। त्यसपछि डाक्टरहरुले मिडियालाई प्रतिक्रिया दिए।

१५ दिनअघि विरामी परेर सामान्य अवस्थामै ओम अस्पताल पुगेका कोइराला अस्पतालमै रहँदा 'भमिटिङ' भएपछि बेहोस भएका थिए।अस्पतालले उनको एक्स-रे गर्दा पूरै फोक्सोमा निमोनिया देखिएको थियो। त्यसपछि अस्पतालले एकदमै ‘क्रिटिकल’ अवस्था रहेको भन्दै उपचार थालेको थियो।

बेहोस अवस्थामा नशाबाट नै औषधी दिनु परेकाले एक हप्ताअघि नै डाक्टर शशांकको अवस्थामा सुधार आयो। तर औषधीको कोर्स पूरा गर्नकै लागि उनलाई अस्पतालमै राखेको थियो। औषधीको कोर्स मंगलबार साँझदेखि सकिएको ओम अस्पतालले जनाएको छ। त्यही औषधी दिएको हातमा कोइरालाको व्याण्डेज थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell