PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

​मास्क फुकाल्दै सभामुखलाई डा. केसीले भने, मेरो माग तपाईँले पूरा गर्न सक्नुहुन्छ



सविन ढकाल

​मास्क फुकाल्दै सभामुखलाई डा. केसीले भने, मेरो माग तपाईँले पूरा गर्न सक्नुहुन्छ

काठमाडौँ :  शिक्षण अस्पतालको गणेशमान भवनको एउटा कोठामा ११ दिनदेखि लडिरहेका डा. गोविन्द केसीलाई भेट्न बुधबार सभामुख ओनसरी घर्ती पुगिन्।

साउनको झरीमा रुझ्दै भए पनि चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरु हातमा कालो पट्टी बाँधेर केसीको माग पूरा गराउन सरकारलाई दबाब दिइरहेका थिए। 

सभामुख आउने खबर थाहा पाएदेखि नै विद्यार्थीहरु उनलाई घेरेर दबाब दिने तयारीमा जुटिरहेका थिए। सभामुख बिहान साढे ११ बजे आउने खबर थियो। तर राजनीतिक भेटघाटमा व्यस्त उनी त्यहाँ आइपुग्न झण्डै डेढ घण्टा ढिला भयो। सभामुख आउने बित्तिकै उनीहरुले चर्का नारा लगाए। 

एस्कर्टिङका साथ सभामुखलाई डा. केसी अनसन बसेको स्थलमा लगियो। बेडमा लडिरहेका केसीलाई देख्ने बितिकै सभामुखले नमस्कार गरिन्। त्यसपछि उनले अनसन नबस्न आग्रह गरिन्। 

मुखमा लगाएको मास्क निकाल्दै डा. केसी बोल्न थाले, 'म चिकित्साशास्त्र अध्ययनलाई गुणस्तरीय बनाउन अनसन बसेको हुँ। सबै वर्गका र जेहेन्दार विद्यार्थी आर्थिक अभावमा शिक्षाबाट वन्चित नहुन् भन्ने मेरो माग हो।' 

उनी जति बोल्दै जान्थे, उनको आवाज झनझनै बुलन्द हुँदै गएको थियो। उनले थपे, 'अहिले चिकित्साशास्त्र अन्तर्गतका शिक्षण संस्था नाफामूलक भए। यसलाई सेवामूलक बनाउनु पर्छ।'

सेता झुस्स परेका दारी अनि गलेको अनुहार। शरीर कमजोर भए पनि अठोट दरिलै देखिन्थ्यो। भने, 'मेरा मागको तीन वटा बूँदा संसदबाट समाधान हुन्छ। त्यसैले तपाईँले गर्न सक्नुहुन्छ।'

उभिएर कुरा सुनिरहेकी सभामुख घर्तिले केसीको भन्दा मलिन स्वरमा भनिन्, 'तपाईँलाई गाह्रो होला, नबोल्नुस्।' 

तर उनले आफ्ना माग बूँदा आवाजमा नै सुनाए। सभामुखले भनिन्, 'फेरि पनि भन्छु अनसन छोड्नुहोस्। तपाईको स्वास्थ्यको लागि नै हो। 
यति भनेपछि गोविन्द केसीले 'हस् त नमस्कार। धन्यवाद' को जवाफले विदा मागे। 

सभामुखले उनका मागलाई प्रमुख दलका नेताहरुसँग राखिदिने प्रतिवद्धता व्यक्त गरिन्। 

अस्पतालबाट बाहिर विद्यार्थीको विरोधले सभामुखलाई हम्मेहम्मे पर्यो'।



















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell