
साम एलारडाएस इंग्लिस फुटबल टीमको नयाँ प्रशिक्षक बन्ने पक्का भएको छ। यसबारे बिहीबार निर्णय हुने बीबीसीमा उल्लेख छ।
इंगल्याण्डको प्रशिक्षकमा नियुक्त हुने भएपछि सामले ९ महिना अघि प्रशिक्षक बनेका प्रिमियर लिग क्लब सण्डरल्याण्डको पद छाड्नेछन्।
६१ वर्षे सामले अब रोए हड्सनको स्थान लिनेछन्। फ्रान्समा भएको युरोकप २०१६ को क्वाटरफाइनलमा आइसल्याण्डसँग अप्रत्यासित रुपमा पराजित भएपछि हड्सनले गत जुनमा आफ्नो पदबाट राजिनामा दिएका थिए।
वेस्टहम, न्युकासल र बोल्टन पुर्व प्रशिक्षक समेत रहेको सामले गत साता इंग्लिस फुटबल संघसँग कुरा गरेका थिए। र हल सिटीका स्टिभ बु्रसलाई पछि पार्दै साम इंगल्याण्डको नयाँ प्रशिक्षकमा छानिएका हुन्।
सामले बुधबार हार्टलपुल विरुद्धको खेलमा सण्डरल्याण्डका लागि अन्तिम पटक प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। प्रि सिजनको उक्त खेलमा सण्डरल्याण्ड ३–०ले विजयी भएको थियो।
सन् २००६ को विश्वकप पछि स्भेन गोरन एरिक्सनले इंगल्याण्डको प्रशिक्षक पद छाडेपछि त्यतिखेर सामलाई पनि अन्तर्वार्ता लिइएको थियो तर स्टिभ म्याकलरेन प्रशिक्षक नियुक्त भएका थिए।
दुई दशक भन्दा बढी प्रशिक्षकका रुपमा करियर बिताएका सामले अहिलेसम्म मुख्य उपाधि जित्न सकेका छैनन्।
आगामी सेप्टेम्बर ४ मा स्लोभाकिया विरुद्ध हुने विश्वकप छनोट खेल मार्फत् सामले इंगल्याण्डको लागि मुख्य खेलमा डेब्यु गर्नेछन्।