काठमाडौँ : मनसुनी रेखा नेपालतिर भएका कारण आज देशैभर वर्षात् भएको छ।
न्यूनचापीय क्षेत्रमा मनसुनी गतिविधि केन्द्रित भएकाले त्यसको असरस्वरुप नेपालमा वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।
“मनसुनी रेखा भनेको पानी पर्नका लागि बनेको न्यूनचापीय क्षेत्रहरुको लाइन हो, यो नेपालको पूर्वी भागबाट प्रवेश गरेको छ, न्यूनचापीय क्षेत्रमा अरबियन सागर र बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावले मौसममा खराबी आएको छ” – उनले भने।
खासगरी मध्य र पूर्वी भेगमा भारी वर्षात् भएको र यो क्रम रातिसम्म जारी रहने छ, तुलनात्मक रुपमा पश्चिमी भेगमा कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विगत तीन/चार दिनदेखि निरन्तर (केही घन्टा रोकिँदै) परेको वर्षात् अझै एक/दुई दिन जारी रहने मौसमविद अर्यालले बताए।
निरन्तरको भारी वर्षाले पूर्वी पहाडी भेगमा बाढी पहिरोका घटना बढ्नसक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन मौसमविद्ले सुझाएका छन्।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी सिमरामा १६० र सबैभन्दा कम ओखलढुङ्गामा ०.२ मिलीमिटर वर्षात् भएको छ।
काठमाडौँमा १२ मिलीमिटर वर्षात् भएको छ। त्यसैगरी विराटनगरमा ७३, धनकुटामा ११, पोखरामा ३५, वीरेन्द्रनगरमा ६०, धनगढीमा १४ मिलीमिटर वर्षात् भएको छ। रासस