PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

​ओलीलाई देउवाले गरे व्यङ्ग्य – पदको लोभ गर्दिनँ पनि भन्ने, प्रक्रिया पनि अगाडि नबढाउने?



मनोज सत्याल

​ओलीलाई देउवाले गरे व्यङ्ग्य – पदको लोभ गर्दिनँ पनि भन्ने, प्रक्रिया पनि अगाडि नबढाउने?

काठमाडौँ :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीले 'पदै छाड्न नचाहेको' जिकिर नगर्ने भन्दै व्यङ्ग्य गरेका छन्। 

प्रमुख दलहरुको बैठकमा ओलीले आफूलाई पदको लोभ नभएको भन्दै धारणा राखेको तर प्रक्रिया पनि अगाडि बढाउन नचाहेको देखर देउवाले आश्चर्य व्यक्त गरे। 

'कुरा गर्दा अविश्वासको प्रस्ताव फेस गर्छु पनि भन्नुहुन्छ, अनि पदमा पनि धेरै लोभ छैन भन्नुहुन्छ। तर (सदन) अगाडि बढाउन खोजिरहनु भएको छैन', देउवाले भने, 'अहिले नै प्रधानमन्त्री पदै छाड्न चाहन्नन् भन्दिन म।'

देउवाका विश्वासपात्र समेत रहेका विमलेन्द्र निधिले भने प्रधानमन्त्रीले पदलिप्सा प्रदर्शन गरेको आरोप लगाए।

'कार्यसूची कतै हराएको छैन। आर्थिक विधेयक अहिले जरुरी नै छैन। जुन काम आवश्यक नै छैन, त्यसको लागि जिद्दी गर्नु भनेको पदलिप्सा हो, कुर्सी नछाड्नु हो', निधिले भने, 'हामी के भन्दैछौँ भने छिटो भन्दा छिटो अविश्वासको प्रस्ताव सामना गर्नुस्।'

उनले प्रधानमन्त्री ओलीले पदमा रहिरहने चाहना प्रस्तुत गरेको समेत बताए।

'प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याएपछि हाम्रो आशय त कुर्सीबाट हट्नुस्, तपाइँलाई काम गर्न दिन्नौँ भनेको न हो', निधिको तर्क छ, 'काम गर्न नदिन हटाउन खोजेको, विधेयक पास गरेर काम गर्न दिने कस्तो उल्टो कुरा हो।'

उनले तत्काल अविश्वासको प्रस्ताव पारित गरेर अर्को प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया प्रारम्भ होस् भन्ने कांग्रेसको चाहना रहेको बताए। 
ओलीले नयाँ सरकार गठनका लागि भएको संवैधानिक अड्चन हटाउनु पर्ने धारणा बिहीबारको बैठकमा राखेका थिए। सभामुखको पहलमा संसद भवनमा भएको बैठकमा ओलीले संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने बताएका थिए। 

ओलीको धारणालाई सभापति देउवाले भने अस्वीकार गरेका छन्। प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव ल्याउनु भयो नि भनेर पत्रकारले सोध्दा उनले भने – 'उहाँले ल्याउँदैमा के हुन्छ र यार?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell