PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

​एमालेको चालाले अलमलियो कांग्रेस, सचेतक भन्छन् – हामीले कुरै बुझेनौँ



मनोज सत्याल

​एमालेको चालाले अलमलियो कांग्रेस, सचेतक भन्छन् – हामीले कुरै बुझेनौँ

काठमाडौँ : नेकपा एमालेले नयाँ सरकार गठनको प्रकिया मिलाउनुपर्ने र संविधान संशोधन गर्नुपर्ने आवश्यकता देखाएपछि नेपाली कांग्रेस अलमलिएको छ। 

संसदमा बजेटका आश्रित विधेयकहरु हटाएको विरोधमा संसद अवरुद्ध गर्ने निर्णय गरेको एमालेले संविधान संशोधनको कुरा उठाएपछि कांग्रेस अलमलिएको हो। 

संसद भवनमा भएको प्रमुख दलहरुको बैठकमा राजीनामा दिने शर्तमा अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्तावमा समेत प्रधानमन्त्री ओलीले समय मागेको बैठकमा सहभागी चीनकाजी श्रेष्ठले बताए। 

पहिला अर्थका आश्रित विधेयक प्रस्तुत गर्ने, दोश्रो  प्रधानमन्त्रीले संसदमा राजीनामा दिने शर्तमा  अविश्वासको प्रस्तासव फिर्ता लिने, तेश्रो प्रधानमन्त्रीले राजीनामा दिने अनि चौथो नयाँ प्रधानमन्त्री चयनको मिति तोक्ने प्रस्ताव कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बैठकमा गरेका थिए। 

प्रस्तावपछि प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनमा संविधान संशोधन गर्नुपर्ने बताएको प्रमुख सचेतक श्रेष्ठले बताए।

'प्रधानमन्त्रीले संविधानमा संशोधन गर्नुपर्छ भन्नुभयो। राजीनामाका लागि एक दुई दिन लाग्छ। अर्को मन्त्रिपरिषद् गठनका लागि प्रक्रिया मिलाउनुपर्छ भन्ने ढंगको नयाँ कुरा ल्याउनुभयो', श्रेष्ठले भने, 'जुन कुरा हामीलाई शंका लागिरहेको थियो।' 

संसद चलाउन एमाले बाधक

श्रेष्ठले संसदमा अवरोध गर्ने भए पनि ठीकै छ भन्दै आफूहरुले संसद् चलाउन गरेको प्रस्तावमा समेत एमालेले आलटाल गरको बताए। 

'ठीकै छ संसद अवरुद्ध गर्नुस् हामी जवाफ दिउँला नदिउँला, हाउस (संसद् बैठक) चलाउँ भन्यौँ', श्रेष्ठले भने, 'हाउस चलाउन पनि तयार हुनुहुन्न, निकास निकाल्न पनि तयार हुनुहुन्न, हाउस चलाउँदा मुठभेड होला कि के होला भन्नुहुन्छ अनि चलाउन पनि तयार हुनुहुन्न।'

'हाउस चलाउन तयार नहुने, राजीनामा गर्न पनि तयार नहुने, अर्को मन्त्रिपरिषद् गठनका लागि पनि तयार नहुने, किसिमको कुरा आयो', श्रेष्ठले भने, 'सहजतापूर्वक सल्लाहले गर्ने पनि भन्नुहुन्छ तर कुनै पनि प्रस्ताव पनि मान्नुहुन्न। हामीले कुरा बुझेनौँ के हो।'

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने समस्या समाधान गर्ने विषयमा नेताहरु छलफलमा रहेको बताए।

'आश्रित विधेयकको अजेण्डा जुन छ, त्यसलाई पहिला गर्ने कि अविश्वासको प्रस्तावलाई छलफल गर्ने - यी दुई विषयमा उत्पन्न अविश्वासलाई विश्वासमा रुपान्तरण गर्ने वा अन्य ढंगले समाधान गर्ने भन्ने कुरा भइरहेको छ', ढकालले भने, 'भोलि १२ बजेसम्मका लागि सबैले प्रतीक्षा गरौँ।'

सभामुख ओनसरी घर्तीले भने दलहरुबीच भइरहेको छलफल सकरात्मक रहेको उल्लेख गर्दै भोलि २ बजेसम्ममा निष्कर्ष आउने बताइन्। 

अविश्वास प्रस्तावको बारेमा छलफल गर्न आह्वान गरिएको बैठक सूचना टाँस गरेर दुई पटकसम्म स्थगित गरी अन्तिममा भोलि दिउँसो २ बजेसम्म स्थगित गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell