PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

हिजो : बिहान प्रम-सभामुख चर्काचर्की, दिउँसो सभामुखको लचकता र पौडेलको प्याकेज प्रस्ताव, आज के होला



रमेश वाग्ले

हिजो : बिहान प्रम-सभामुख चर्काचर्की, दिउँसो सभामुखको लचकता र पौडेलको प्याकेज प्रस्ताव, आज के होला

काठमाडौँ : गएको असार २८ गते संसदमा दर्ता भएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव संसदमा प्रस्तुत गर्न बिहीबार संसदको बैठक डाकिएको थियो। प्रधानमन्त्री ओलीले आफ्नो सरकारले संसदमा पेश गरेको बजेटका पूरक विधेयकहरु पारित नगर्दासम्म अविश्वास प्रस्ताव पारित हुन नदिने अडान सार्वजनिक गर्दै आएका थिए। 

सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेतासँग सहमतिका लागि भन्दै सिंहदबारमा बैठक डाकेपछि बिहान ११ बजेका लागि डाकिएको संसद बैठक प्रभावित भयो। दुई घण्टा भन्दा लामो समयसम्म संसद् बैठक सार्नु परेमा सूचना प्रकाशित गरेर जानकारी गराउनुपर्ने संसद् नियमावलीको प्रावधान अनुसार सभामुखले सूचना टाँस्न लगाएर दिउँसो दुई बजेका लागि बैठक डाकिन्। 

सिंहदरबारस्थित सभामुखको आफ्नै कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई राजिनामा दिन र सरकारले पेश गरेका विधेयक पारित गरेर अघि जाने प्रस्ताव गरे। 

तर प्रधानमन्त्री ओलीले त्यसलाई ठाडै अस्वीकार गरे। उनले नेताहरुको प्रस्ताव मात्र अस्वीकार गरेनन्, सभामुखले अधिकारको दायरा नाघेर संसद्को काम कारवाही अघि बढाएको भन्दै सभामुखको पनि आलोचना गरे। 

त्यसछि सभामुखले नियमावलीले सभामुखलाई दिएका अधिकारको प्रयोग गरेका विषयमा अनावस्यक टिप्पणी नगर्न आग्रह गरिन्।

कार्यपालिका प्रमुख प्रधानमन्त्री ओली व्यवस्थापिका प्रमुख सभामुखसँग मर्यादासमेत नराखी बाझाबाझको शैलीमा प्रस्तुत भए। उनले सभामुखलाई २९ गतेको संसद् बैठकको कार्यसूचीमा राखिएको सरकारले प्रस्तुत गरेका विधेयक हटाउने अधिकार तपाईँलाई कस्ले दियो भन्दै व्यवस्थापिका कार्यपालिका मातहतको अंग र सभामुख पनि त्यस्तै भएको शैलीमा सवाल जवाफ गरे।

आफ्नो कार्यक्षेत्रका विषयमा प्रधानमन्त्रीले प्रश्न उठाएपछि सभामुख ओनसरी घर्ति पनि कड्किइन्। 'तपाईँ विरुद्ध संसदमा अविश्वास प्रस्ताव आइसकेपछि तपाईँले राजिनामा दिनुभएको छ र अविश्वास प्रस्तावभन्दा अघि अरु काम कारवाही हुन्छ?'  भन्दै उनले प्रधानमन्त्रीलाई प्रतिप्रश्न गरिन्। 

सभामुख घर्तिले प्रधानमन्त्रीलाई 'तपाई कुन संसदबाट निर्वाचित हुनु भएको, तपाईँले निर्वाचित भएको संसद्प्रति उत्तरदायी हुने कि आफू खुशी बोल्दै हिँड्ने' भन्दै प्रधानमन्त्री ओलीलाई कडा प्रतिवाद गरिन्। 

तर प्रधानमन्त्री ओलीले 'कसरी प्रस्तुत हुँदोरैछ अविश्वास प्रस्ताव म पनि हेर्छु' भन्दै अडान कायम राखे। सभामुखले दिउँसो दुई बजेका लागि संसद् बैठक डाकेकाले त्यसअघि पुनः छलफल गरेर सकेसम्म सहमतिमा पुग्ने भन्दै १२ बजे सभामुखले शीर्ष बैठक स्थगित गरिन्। र, दिउँसो
एक बजेका लागि संसद भवनमा नै बैठक डाकिन्। 

नेताहरु खाना खाएर संसद् भवन पुग्न ढिला गरेपछि करिब ४५ मिनेट ढिला बैठक पुनः सुरु भयो। बैठकमा पुनः कांग्रेस माओवादीले अविश्वास प्रस्तावको सामना गर्न वा राजिनामा दिन आग्रह गरे। तर प्रधानमन्त्री ओली सहमत हुन सकेनन्। उनले अड्डी कसिरहे अविश्वास प्रस्ताव पेश हुन नदिने र विधेयक पारित नहुँदासम्म राजिनामा पनि नदिने। 

पौने दुई बजे सुरु भएको बैठक करिब दुई घण्टासम्म चल्यो। तर कुनै सहमतिमा पुग्न सकेन। यसबीचमा देउवा, प्रचण्डसहित कांग्रेसका रामचन्द्र पौडेलसम्मले प्रधानमन्त्रीलाई नयाँ नयाँ प्रस्ताव गरे, तर प्रधानमन्त्रीले त्यसमा सहमति जनाएनन्। 

बैठकको अन्त्यतिर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चार बूँदे प्याकेज प्रस्ताव राखे- अविश्वासको प्रस्ताव माओवादीले फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा गर्ने, प्रधानमन्त्रीको नयाँ निर्वाचनका लागि संवैधानिक जटिलता हटाउने र संविधान कार्यान्वयनका लागि मिलेर जाने। उनको प्रस्तावमा प्रधानमन्त्रीले सिधा सहमति जनाएनन्। तर उनले त्यसैलाई आधार बनाएर सहमतिमा पुग्नसक्ने जनाउ दिए। उनको त्यो जनाउसँगै सभामुखले बैठक स्थगित गरिन्। शुक्रबार बिहानैदेखि छलफलमा बस्ने सभामुख र कांग्रेस माओवादीका नेताहरुको प्रस्ताव थियो। तर प्रधानमन्त्रीले पुष्पलाल जयन्ती परेकोल १२ बजे अघिका बैठकमा सहभागी हुन नसक्ने बताए। 

सभामुखले शुक्रबार मध्याह्न १२ बजे शीर्ष नेताको बैठक तोकिन् र जारी बैठक सकिएको घोषणा गरिन्। कांग्रेस नेता रामचन्द्र पौडेल आफूले चार बुँदे प्रस्ताव राखेको बताउँदै बैठक स्थलबाट बाहिरिए। माओवादी केन्द्रका कृष्णबहादुर महराले पौडेलले प्रस्ताव राखेको र त्यसमा भोलि छलफल हुने बताए। 

कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गर्न वा राजिनामा दिन दुबैका लागि तयार नभएर अर्घेल्याईँ गरेको आरोप लगाए। उनले संसदमै विरोध गर्नुस् बैठक चलाउँ भनी आग्रह गर्दा समेत प्रधानमन्त्रीले अस्वीकार गरेको भन्दै केटाकेटी व्यवहार भएको बताए। 

'प्रधानमन्त्रीले न त राजिनामा दिनुहुन्छ न त अविश्वास प्रस्ताव फेस गर्न तयार हुनुहुन्छ' उनले भने, 'अविश्वास प्रस्ताव पेश गर्छौ तपाईहरु संसद बैठकमै आफ्नो कुरा राख्नुस् भन्दा समेत मान्न तयार हुनुहुन्न।' श्रेष्ठले प्रधानमन्त्रीको आसय केही समय थप आवश्यक छ भन्ने भएकाले त्यही अनुरुप सभामुखले संसद बैठक शुक्रबार दिउँसो दुई बजेका लागि सारेकी छन्। 

सभामुख घर्ती प्रधानमन्त्रीसँग बिहानको बैठकमा कडा रुपमा प्रस्तुत भए पनि दिउँसो भने लचक भइन्। बिहान अविश्वास प्रस्ताव अगाडि नै हुने र प्रधानमन्त्रीको राजिनामा नआएमा त्यो संसदमा प्रस्तुत हुने बताएकी सभामुख घर्ती दिउँसो भने लचक भएर प्रस्तुत भइन्। उनी किन त्यसरी लचक भइन् त्यो भने खुल्न सकेको छैन।

गत २८ असारमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि वर्तमान प्रधानमन्त्रीको बहिर्गमन र नयाँ प्रधानमन्त्रीको चयन कसरी गर्ने भन्ने बहस चलिरहेको छ। वर्तमान सत्ताधारीहरुले नयाँ प्रधानमन्त्री चुनावका लागि संवैधानिक बाटो नै नरहेको भन्दै पहिला समझदारीमा संविधान संशोधन नभए नयाँ सरकार गठन संभव नहुने र काम चलाउ सरकारकै नेतृत्वमा देश संचालन हुने तर्क गरिरहेका छन्। प्रतिपक्षी गठबन्धन जुन धाराबाट प्रधानमन्त्री पदमुक्त हुन्छन् त्यही धाराबाट नयाँ प्रधानमन्त्रीको चयन हुने बताइरहेको छ।

ती विषयको बहस जारी नै रहेका बेला प्रधानमन्त्रीविरुद्ध कांग्रेस माओवादी गठबन्धनले अविश्वास प्रस्ताव पेश गर्दासम्म संसदबाट पारित नभएका बजेटका पुरक विधेयकको हैसियत के हुने भन्ने विषय अहिले प्रधानमन्त्री केपी ओलीका लागि प्रतिष्ठाको विषय बनिरहेको छ। आर्थिक विधेयक असफल नै पारिदिएको भए पनि प्रधानमन्त्रीले राजिनामा दिनु पर्थ्यो। तर उनले अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि पनि त्यो विधेयक पारित गरिदिए मात्र अविश्वास प्रस्ताव प्रस्तुत हुने भन्दै प्रतिपक्षी व्यवहार प्रस्तुत गरिरहेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell