बेनी : म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधबार बिहानदेखि खस्न सुरु भएको पहिरो ४८ घन्टा बितिसक्दा पनि रोकिएको छैन।
पहिरोले तोराखेतमा एक घर र दुई गोठ बगाएको छ भने सयौँ रोपनी जग्गा पुरिसकेको छ। स्थानीय जग्गाविहीन बनेका छन्। गाउँ माथिबाट आएको पहिरोले धनबहादुर दर्जीका घर र गोठ बगाएको हो।
विगत पाँच वर्षदेखि खस्न सुरु गरेको सो पहिरोले स्थानीय धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको स्थानीय टेकबहादुर मल्लले जानकारी दिए।
मल्लले दिएको जानकारीअनुसार गत सालको पहिरोले क्षति पु¥याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो। पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन। पहिरोका त्रासले स्थानीयले गाउँ नै छोडेर अन्यत्र सरेका छन्।
पहिरोले बगाएका घर गोठमा पनि मानिस र पशु चौपाया नभएकाले क्षति हुन नपाएको हो। पुरानो पहिरो भए पनि रोकथामको प्रयास असफल भएपछि बेनी नगरपालिका–४ बगरफाँट समेत जोखिममा परेको छ।
पहिरोले सयौँ रोपनी खेतीयोग्य जमिन बगाए पछि त्यहाँका १२ घर परिवार घरजग्गा विहीन बनेका छन्। विगतका वर्षमा गएको पहिरोले २० घर विस्थापित भइसकेका छन्।
त्यसैगरी, दुई दिनदेखि निरन्तर रुपमा खसिरहेको पहिरोका कारण पहिरोभन्दा तल रहेको बेनी नगरपालिका–४ बगरफाँट गाउँ समेत जोखिममा परेको छ। बगरफाँटवासी पहिरोको त्रासले रातभरि जाग्राम बसेका छन्। पहिरोले बगरफाँटमा पनि टीकाबहादुर कार्की र कृष्णप्रसाद रिजालको खेत पुरेको छ।
त्यसैगरी, खानेपानीको पाइप बगाएपछि बगरफाँटमा दुई दिनदेखि खानेपानी अवरुद्ध बनेको छ। सिँचाइ नहर पुर्दा स्थानीयले रोपाइँ गर्न पाएका छैनन्। पहिरोका कारण बेनी–हाँडेभिर–सुर्केमेला–बरङ्जा सडक समेत अवरुद्ध भएको स्थानीयले बताएका छन्। रासस