भक्तपुर : भूकम्पले उद्योगको चिम्नी ढालेपछि बन्द रहेको भक्तपुरको इँटा तथा टायल उद्योग १४ महिनापछि सञ्चालनमा आएको छ।
रु तीन करोडको लागतमा ७४ मिटर अग्लो नयाँ चिम्नी पुनःनिर्माण पछि उद्योग पुनःसञ्चालनमा आएको हो।
गत वर्ष वैशाखमा गएको भूकम्पका कारण उद्योगको इँटा पोल्ने दुईवटा भट्टा र चिम्नी ढलेर पूर्णरुपमा क्षति हुँदा करिब रु नौ करोडको क्षति भएको उद्योगका प्रबन्ध निर्देशक दुर्गा मल्लले जानकारी दिए।
उद्योग बन्द हुँदा त्यहाँ कार्यरत ५०० मजदुर कामबाट वञ्चित भएकोमा उद्योग सञ्चालन भएपछि बिहीबारदेखि नै उनीहरु काममा फर्किएका छन्। उद्योगको दैनिक ८० हजार देखि ९० हजार इँटा उत्पादन गर्ने क्षमता रहेको छ।
उद्योगका अध्यक्ष केपी ताम्राकारले क्षति भएको भौतिक संरचनाको पुनःनिर्माणका लागि अर्थ मन्त्रालयले आव २०७२/०७३ को वार्षिक बजेट भाषण मै बजेटको व्यवस्था गरे पनि त्यो सहयोग अझै नपाएका कारण उद्योग सञ्चालनमा ढिलाइ भएको बताए।
यसअघि उद्योग बन्द हुँदा त्यहाँ कार्यरत मजदुर तथा कर्मचारीलाई बिनाकाम तलब तथा भत्ता दिनुपर्दा उद्योगलाई करोडौँ आर्थिक भार परेको उनको भनाइ छ।
सरकारले सञ्चालन गर्दा बन्द भएपछि उक्त उद्योग १२ वर्षअघिदेखि निजीस्तरमा सञ्चालन हुँदै आएको छ।
उद्योगले अर्थ मन्त्रालयलाई वार्षिक रु ४० लाख भाडा बुझाउँदै आएको छ। उद्योग १४ महिनासम्म बन्द हुँदा सरकारलाई करिब रु तीन करोड राजस्वसमेत घाटा भएको छ। रासस