
पोर्चुगिज क्लब एफसी पोर्टोका पूर्व प्रशिक्षक युलेन लोपेटगी स्पेनको फुटबल प्रशिक्षकमा नियुक्त भएका छन्। स्पानिस फुटबल एसोसियसन आरएफइएफले बिहीबार आफ्नो अफिसियल वेबसाइटमा स्टेटमेन्ट जारी गर्दै यसको पुष्टि गरेको हो।
ला रोजा टीमको नयाँ प्रशिक्षक बनेपछि लोपेटगीले यस अवसरलाई महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएको बताएका छन्।
स्पेन र स्पानिस क्लब बार्सिलोनाका पूर्व खेलाडी समेत रहेको लोपेटेगीले अब भिन्सेन्ट डेल बोस्कको स्थान लिनेछन्। युरोकपमा स्पेन प्रि क्वाटरफाइनलबाटै बाहिरिएपछि बोस्कले प्रशिक्षक पदबाट राजिनामा दिएका थिए।
बार्सिलोनाका पूर्व गोलरक्षक रहेको लोपेटेगीले सन् १९९४ मा स्पेनका लागि एक मात्र अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
तर सन् २००३ मा स्पेनको यु १७ टीमको सहायकबाट प्रशिक्षक करियर सुरु गरेरका उनले स्पेनको यु १९, यु २० र यु २१ को प्रशिक्षण सम्हालिसकेका छन्।
उनले आफ्नो प्रशिक्षणकालमा स्पेनको यु १९ र यु २१ टीमलाई युइएफए युरोपियन च्यामिपयनसीपको उपाधि दिलाएका थिए।
सन् २०१४ मा पोर्टोको प्रशिक्षक बनेका लोपेटगीलाई जनवरीमा पोर्टोले बर्खास्त गरेको थियो।