तम्घास : अविरल वर्षाका कारण गुल्मीको रिडी–तम्घास सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत दुविचौरस्थित भँगारीमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।
सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बुटवल र काठमाडौँका लागि छुटेका र सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन र सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्।
अवरुद्ध सडक सञ्चालन गर्न डोजर परिचालन भइरहेको हुँदा सडक सञ्चालन हुन अझै केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय प्रमुख एवम् प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठले जानकारी दिए।
अविरल वर्षाका कारण सडक बीच–बीचमा खसेको पहिरोका कारण रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डसमेत अवरुद्ध बनेको छ।
यस्तै अविरल वर्षासँगै बढीघाट खोलामा आएको बाढीका कारण गुल्मीको जोहाङ गाविस–२ अन्तर्गत उर्लीखोला बजार पुनः जोखिममा परेको छ। गएरातिदेखि खोलामा आएको बाढीको बहाब बढ्दै जानथालेपछि बजार क्षेत्रका ६० घर उच्च जोखिममा रहेको स्थानीयवासी विष्णुमाया भण्डारीले बताइन्।
बिहीबारदेखि निरन्तर रुपमा परेको वर्षाले बजार नजिकैको बडिघाट खोलाको सतह बढ्दै गएपछि सडकसमेत बगाउन थालेको बताइएको छ। खोला बढ्दै जानथालेपछि यतिबेला नदी किनारका बासिन्दा निकै त्रसित छन्।
बडिघाटको जोखिममा रहेको उर्लीखोला बजार क्षेत्रको सिंङ्गो बस्ती पानी पर्नासाथ घर नै छोड्नुपर्ने बाध्यतामा छन्। बजारका अधिकांश घर बडीघाट खोलाबाट १० देखि १५ मिटरसम्मको दूरीमा छन्। रासस