PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पौडेललाई नै अगाडि राखेर उनको प्रस्ताव अस्वीकार गर्ने कांग्रेस माओवादी र मोर्चाको निर्णय



पहिलोपोस्ट

पौडेललाई नै अगाडि राखेर उनको प्रस्ताव अस्वीकार गर्ने कांग्रेस माओवादी र मोर्चाको निर्णय

काठमाडौँ : कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको संयुक्त बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव एक नम्बर कार्यसूचीमा राखेर संसद बैठक अघि बढाउने निर्णय  गरेको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेललाई नै अगाडि राखेर उनले हिजो शीर्ष नेताको बैठकमा प्रस्तुत गरेको चार बुँदे प्याकेजमा सहमतिको प्रस्तावलाई अस्वीकार गर्दै अविश्वासको प्रस्ताव अघि बढाउने निर्णय गरेको हो।
 
'हिजो प्याकेजमा सहमति गर्ने गरी आएको प्रस्तावमा अडिएर बैठक सकिएको थियो, तर अब अविश्वास प्रस्तावलाई नै अघि बढाउने निर्णय भएको छ' कांग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेले भने, 'यससँगै हिजोको शीर्ष बैठकमा प्रस्तुत भएको प्याकेजमा सहमति गर्ने चार बुँदे प्रस्तावको औचित्य समाप्त भएको छ।

प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावका समर्थक नेपाली कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्याकेजमा सहमतिका लागि चार बुँदे प्रस्ताव पेश गरेका थिए।


पौडेलको प्रस्तावमा सकारात्मक रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई व्यवस्थित ढंगले अघि बढाउन सकिने भन्दै आफ्नै दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई प्रस्ताव अघि बढाउन सुझाव दिएका थिए।

त्यही सुझावका आधारमा नेम्वाङले प्याकेज प्रस्तावलाई अघि बढाउन शुक्रबारसम्म समय थप्न सभामुख ओनसरी घर्तिसमक्ष आग्रह गरेका थिए। 

नेम्वाङकै आग्रहमा सभामुख घर्तीले बिहीबारको शीर्ष बैठक अन्त्य गर्दै शुक्रबार १२ बजेका लागि बैठक डाकेकी थिइन्। १२ बजे सभामुखले डाकेको बैठक सुरु हुनु अगावै मधेसी मोर्चासँग बसेको कांग्रेस माओवादी केन्द्रको बैठकले अविश्वास प्रस्ताव अघि बढाउने निर्णय गरेपछि शीर्ष बैठक नै औचित्यहीन भएको छ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको  बैठक सभामुखले आजै दिउँसो १ बजे डाकेकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell