PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

देखाउन बालगृह, धन्दा धर्म परिवर्तनको, फन्दामा चिनियामाया



सविन ढकाल

देखाउन बालगृह, धन्दा धर्म परिवर्तनको, फन्दामा चिनियामाया

काठमाडौं : धनकुटाको धनकुटा नगरापालिका वडा नम्बर ४ बस्ने करिब ४० वर्षीया चिनियामाया व्लोन तामाङले अनाथ तथा गरिब बालबालिकाको लागि आश्रम संचालन गरेको ५ वर्ष भएको छ। सुरुमा उनले धनकुटामा नै आश्रम संचालन गरिन्। सम्पन्न परिवारकी तामाङ केही वर्षयता हिन्दु धर्म परिर्वतन गरेर क्रिस्चियन धर्म मान्दै आएकी छिन्। उनको बालगृहमा ४ देखि १४ वर्षसम्मका बालबालिका छन्।
 
समाज सेवा भन्दै उनले संचालन गरेको बालगृह भने कुनै पनि सरकारी निकायमा दर्ता भएको देखिँदैन।

धनकुटामा आफ्नै घरमा संचालन गरेको बालगृहमा सरकारी प्रशासनको नगर पर्‍यो। उनले संचालन गरेका बालगृहले कुनै पनि मापदण्ड पुरा गरेको पाइएन। बालगृह संचालन गरे पनि बालबालिका लागि बस्ने, खाने, पढ्ने लगायतका व्यवस्थामा सरकारी मापदण्ड पूरा गर्नुपर्छ।

तामाङले विभिन्न विदेशी संस्थाबाट बालगृह संचालन गरेको भन्दै रकम समेत लिन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

धनकुटा जिल्ला प्रशासनले उनको बालगृहले मापदण्ड पूरा नगरेको भन्दै छानविन गर्न थालेपछि उनी रातारात बालबालिका लिएर फरार भइन्। पछिल्लो समय उनलाई विदेशी संस्थालेसमेत सहयोग गर्न छोडेका थिए।

सम्पन्न परिवारकी भए पनि उनका पतिले भने उनलाई आफ्नो सम्पतिबाट बालगृह संचालन गर्न दिन चाहेनन्। तर हठी स्वभावकी उनले आफ्नै सम्पतिबाट बालगृह संचालन गरि नै रहिन्। यसैले उनको र पतिसँग सम्बन्ध बिग्रिँदै गएको थियो। 

धनकुटा प्रशासनले उनले बालबालिका लिएर भागेपछि खोजी तीब्र बनायो। धनकुटाबाट भागेर आएकी उनी ललितपुरमा फेला परिन्। ललितपुरमा पनि उनले बालबालिकालाई मापदण्ड विपरितको बालगृह चलाइरहेको भेटियो।

ललितपुर जिल्ला प्रशासनले उनले यसरी बालबालिकका राखेको थाहा पायो। त्यसपछि उनले बालबालिकालाई कहिले स्वयम्भू त कहिले ललितपुर पुर्‍याइरहिन्। प्रशासनले उनी र बालबालिकाको खोजी तीब्र बनायो।  त्यसपछि भने उनले शंखमुलमा हरिबहादुर तामाङले संचालन गरेको जेरुसेलम एन्टीवन चर्चमा बालबालिका पुर्‍याइन्।

तामाङको बालगृह संचालन गर्नुको रहस्य त्यसपछिमात्रै खुल्यो। उनको एउटै उद्देश्य बालबालिकलाई क्रिस्चियन धर्ममा लगाउनु थियो।

उनको बालगृहबाट प्रहरीले ९ जना बालक र ४ जना बालिकालाई उद्धार गरेको छ। बालबालिका रुकुम, जाजरकोट र धनकुटाका रहेका छन्। कतिपय बालबालिकाको परिवार समेत छैनन्। उनले गाविसको सिफारिसमा बालबालिका ल्याएको देखिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक इश्वर कार्कीका उनुसार धर्म प्रचारको लागि उनले बालबालिकालाई आधार बनाएको अनुसन्धानले देखाएको छ। जवर्जस्ती धर्म परिर्वतन गराएको अभियोगमा तामाङलाई पुर्पक्षमा लिइएको छ। चर्च संचालक हरिबहादुर तामाङ भने ५० हजार धरौटीमा छुटेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell