काठमाडौँ : नेकपा (माओवादी) केन्द्रले व्यवस्थापिका–संसद्को आजको बैठकमा निर्णयार्थ पेस हुने बजेटसम्बन्धी आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने भएको छ।
पार्टी सरकारबाट बाहिरिइसकेकाले सरकारले पेस गरेका आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। संसद् बैठक अहिले ४:३० बजे बस्दैछ।
प्रमुख दलहरुबीच लामो छलफलपछि संसद्मा आर्थिक विधेयक कि अविश्वासको प्रस्ताव कुन पहिला छलफल गर्ने भन्ने विवाद मिलेको छ। दलहरुबीच पहिले आर्थिक विधेयकको टुङ्गो लगाउने र आजै अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको छ।
नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। यसअघि दलहरुबीच संसद् कार्यसूचीको प्राथमिकताका सम्बन्धमा सहमति नहुँदा संसद् बैठक पटक पटक स्थगित भएको थियो। रासस