
काठमाडौं : कमजोर तयारीका बीच महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।
आइसीसी महिला विश्वकप एसियाली छनोट २०१६ को लागि राष्ट्रिय खेलकुद परिषद् राखेपले महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिता २०७३ आयोजना गर्न लागेको हो। क्रिकेटको सर्वोच्च संस्था क्यानलाई आइसीसीले निलम्वन गरेपछि राखेपले महिला क्रिकेटको छनोट प्रतियोगिता गर्न लागेको छ। तर करिब २ वर्षपछि हुन लागेको महिला क्रिकेटको तयारी निकै कमजोर रहेको छ।
राष्ट्रिय महिला क्रिकेट टीमकी कप्तान रुविना क्षेत्रीले पनि सम्बन्धित निकायले पुरुष क्रिकेटको तुलनामा महिला क्रिकेटलाई महत्व नदिएको गुनासो पोखिन्।
यता राखेपले भने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको बताएको छ।
टी ट्वान्टी फर्म्याटमा खेलाइने प्रतियोगितामा पाँच विकास क्षेत्र र सशस्त्रको एपिएफ गरी कुल ६ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइनेछ र दुवै समूहको शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्नेछ।
प्रतियोगिताको समूह एमा एपिएफ, मध्यमाञ्चल र मध्य पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन्। यस्तै समूह बीमा पुर्वाञ्चल, पश्चिमाञ्चल, सुदुर पश्चिमाञ्चल विकास क्षेत्र रहेका छन्।
राखेपबाट गठित क्रिकेट समन्वय समितिले यस प्रतियोगिताको संयोजन गर्नेछ।
च्याम्पियनलाई १ लाख
सिनियर महिला क्रिकेटको इतिहासमै विजेतालाई नगद १ लाख पुरस्कार प्रदान गरिने राखेपले जनाएको छ। यस्तै उपविजेतालाई नगद ५० हजार प्रदान गरिनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सवूमन, उत्कृष्ट बलर, उदयमान खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने उल्लेख छ।यस प्रतियोगिता सञ्चालन गर्नका लागि करिब २० लाख बजेट लाग्ने राखेपले बताएको छ।
महिला राष्ट्रिय छनोट प्रतियोगिता पछि उत्कृष्ट २४ खेलाडीको छनोट गरी बन्द प्रशिक्षणमा शिविरको आयोजना गरिने पनि राखेपले बताएको छ। यसका लागि राष्ट्रिय क्रिकेट टीमका जगत टमाटा, श्यामसन जंग थापा, सुदीप पौडेल, अरुण अर्याल र विनायक पोखरेलको पाँच सदस्यीय कमिटी समेत निर्माण गरिएको छ।
यस्तो छ खेल तालिका