PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लर्डसमा खेलेको नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

लर्डसमा खेलेको नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : क्रिकेटको मक्का मानिने बेलायतको लर्डसमा खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ। एक हप्ता भन्दा बढी समय बेलायत भ्रमण गरेको नेपाली टोलीले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई लर्डसमा ४१ रनले पराजित गर्दै इतिहास रचेको थियो।

नेपालको बेलायतसँग कुटनीतिक सम्बन्ध २ सय वर्ष पुरा भएको अवसरमा नेपाली क्रिकेट टोली विश्वकै पुरानो क्रिकेट क्लबसँग लर्डसमा मैत्रीपुर्ण खेल खेल्ने बेलायत गएको थियो। नेपालले लर्डसमा एमसीसीमाथि ऐतिहासिक जित हासिल गर्नु अघि स्थानिय टोलीसँग भएको चार अभ्यास खेलमा पनि जित हासिल गरेको थियो।

आगामी अगष्टमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्स सँग उसैको मैदानमा हुने खेलको तयारीको रुपमा बेलायत भ्रमणलाई हेरिएको थियो।

नेपाली टीमका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले बेलायत भ्रमण सफल रहेको र लर्डसमा खेल्न पाउँदा आफुहरु भाग्मानी रहेको बताए।

नेपाल ओर्लेपछि त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिने क्रममा कप्तान पारसले आफुले कहिल्यै लर्डसमा खेल्ने नसोचेको र बेलायत टुर राम्रो रहेको बताए।

'मैले कहिल्यै पनि सोचेको थिएन लर्डसमा खेलिन्छ भनेर, खेल्न पाइयो, राम्रो क्रिकेट पनि खेलियो। इंगल्याण्डमा नेपाली क्रिकेटको पनि राम्रो चर्चा भयो।'

यो सफलताले आगामी दिनमा नेपाली क्रिकेटको लागि अझ राम्रो अवसर मिल्ने पारसले बताए। अभ्यास म्याचहरुमा पनि अपराजित रहेको नेपालको समग्रमा टुर राम्रो भएको उनले प्रतिक्रिया दिए।

यता प्रशिक्षक टमाटा भने आफ्ना खेलाडीहरुले आफुलाई प्रमाणित गरेर देखाएको मख्ख थिए। 'लर्डसमा खेल्नु पाउँनु हाम्रो लागि धेरै महत्वपुर्ण अवसर थियो। त्यही रुपमा खेलाडीहरुले राम्रो खेले र आफुलाई प्रमाणित गरेर देखाए। यसबाट नेपालले पनि राम्रो क्रिकेट खेल्छ भन्ने सन्देश दिएको छ,' टमाटाले भने। लर्डसमा नेपाली भण्डा फरफराउँदा आफुलाई निकै गौरवान्वित महसुस गरेको पनि टमाटाले बताए।

बेलायतमा राम्रो प्रदर्शन गरेको र नेदरल्याण्ड्समा पनि खेलाडीले राम्रो प्रदर्शनलाई कायम राख्ने उनले बताए। 'ओभरअल रुपमा बेलायत भ्रमण राम्रो रह्यो। खेलाडीहरुले पनि राम्रो खेले, आशा छ नेदरल्याण्ड्समा पनि राम्रो खेल्नेछ,' उनले भने।

यस्तै नेपाली टोलीले अझै सुधार गर्नुपर्ने उनले जोड दिए। 'नेपालले अभै धेरै सुधार गर्नुपर्छ। विशेष गरी ब्याटिङमा अलि पुस गर्नुपर्ने आवश्यक छ।'
 


ट्रेन्डिङ पोस्ट

Ncell