PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

​आर्थिक विधेयकमा छलफल : दफामा भन्दा घोचपेचमा बढी समय



रमेश वाग्ले

​आर्थिक विधेयकमा छलफल : दफामा भन्दा घोचपेचमा बढी समय

काठमाडौं : संसद्मा प्रस्तुत भएको आर्थिक विधेयक निर्णयार्थ प्रस्तुत गर्नुअघि भएको दफाबार छद्यफलमा विधेयकको विषय भन्दा अन्तै मोडियो। सांसद्हरुले विधेयक प्रस्तुत भएपछि बोल्ने क्रममा कार्सूचीका विषय र सरकारको जिद्दिका विषयमा धारणा राखे भने अर्थमन्त्रीले जवाफ दिने क्रममा पनि विधेयकका दफा भन्दा पनि सांसदका जवाफ देखि सभामुखको कामकारवाही र माओवादी केन्द्रलाई व्यंग्य गर्दै खर्चिए।

नेपाली कांग्रेसका सांसद डाक्टर प्रकाशरण महतले करको दर देखि राजश्वको लक्ष्यसम्म अवैज्ञानिक भएका कारण यो विधेयक पारित गर्नु हितकर नभएको बताए। उनले सरकारले अल्पमतमा परेर बैधिनकता नै गुमाइसकेकाले यो कार्यसूचीमै राख्नु नपरे पनि सरकारको जिरहका कारण मात्र प्रस्तुत भएको बताए।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले सरकारले वैधानिकता गुमाइसकेकाले अविश्वास प्रस्ताव 'फेस' गर्नुको साटो विधेयक प्रस्तुत गर्नुपर्ने भन्दै जिद्दि गरेको बताए। उनले आफ्नो पार्टीले सरकारलाई दएको समर्थन फिर्ता लिइसकेकाले विधेयक अस्वीकृत हुने पनि जनाउ दिए। महराले आर्थिक विधेयक गन्तव्यहीन भएको भन्दै यो समाजवाद र पुँजीवादको खिचडी भएको बताए।

जवाफका क्रममा अर्थमन्त्री पौडेलले सभामुखको कार्यक्षेत्रमा प्रश्न उठाउने देखि सांसद्हरुसम्मलाई व्याङग्य गर्न भ्याए। 

'सभामुख महोदय यो विधेयक सैद्धान्तिक छलफल सकेर यो विधेयक स्वीकृत भएको छ,' पौडेलले भने, 'हिजो यो विधेयक ठीक थियो आज आएर यो समाजवाद र पुँजीवादको खिचडी कसरी भयो?' उनले सभामुखले २५ गतेको बैठकबाट २९ गतेका लागि डाकेको बैठक किन बसेन र कार्यसूची कसरी परिवर्तन भयो भन्ने पनि प्रश्न राखे।

उनले बोल्दै गर्दा सभामुखले आफ्नो काम कार्वाहीका विषयलाई प्रश्न नबनाउन ध्यानाकर्षण गरिन्। तर प्रश्नको जवाफका लागि समय दिएकाले आफूले नियम उल्लंघन नगरेको बताएर भनाई निरन्तरता दिए पौडेलले। तर उनले दफावार रुपमा उठेका प्रश्नको भने छोटकरीमा मात्र जवाफ दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell