PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पूर्व सभामुख सुवास नेम्वाङले पहिलो पटक संसदको रोष्ट्रममा उभिएर ओलीको बचाउ गरे



रासस

पूर्व सभामुख सुवास नेम्वाङले पहिलो पटक संसदको रोष्ट्रममा उभिएर ओलीको बचाउ गरे

काठमाडौँ : हाल नेकपा (एमाले) संसदीय दलका उपनेता रहेका पूर्व सभामुख सुवास नेम्वाङले पहिलो पटक संसदको रोष्ट्रममा उभिएर बोल्दै प्रधानमन्त्री केपी ओलीको बचाउ गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले अर्काे संसदीय निर्वाचन नहुँदासम्म दलहरु सरकार परिवर्तनमा होइन संविधानको कार्यान्वयनमा लाग्ने परिकल्पना विपरीत अविश्वासको प्रस्ताव आएको बताए। 

उनले भने, “संविधानले नसोचेर होइन, जानेर नै नयाँ प्रधानमन्त्रीका बारेमा व्यवस्था नगरेको तथ्य निर्विवाद रहेको छ । संविधानले सरकार फेरबदलमा होइन, संविधान कार्यान्वयनमा एकजुट हुनका लागि त्यस्तो व्यवस्था गरेको हो।” 

अविश्वासको प्रस्ताव आउनु दुर्भाग्यपूर्ण र बेठिक भएको भन्दै उनले प्रधानमन्त्री ओलीले नाकाबन्दीको अवस्था हटाउनेलगायत मुलुकलाई समृद्धि गराउने काम गरेको तर्क राखे। के नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याइएको हो ? भनी प्रश्न गर्दै उनले सरकारका कमीकमजोरी नहोस् र सरकार ठिक दिशामा सञ्चालन होस् भन्नका लागि उच्चस्तरीस्य राजनीतिक संयन्त्रका संयोजक र अविश्वासको प्रस्तावको पहिलो हस्ताक्षरकर्ता पनि पुष्पकमल दाहाल नै हुनु युक्तिसङ्गत नभएको बताए। 

शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने दायित्व सरकारमा सहभागी माओवादी केन्द्रको पनि भएको जनाउँदै उनले संविधान बन्यो र ओलीको नेतृत्वमा सरकार बन्यो भनेर खुसी मान्ने जनता अहिले दुःखित भएको टिप्पणी गरे। 

संविधान स्वीकार्य छैन भन्ने मधेसी मोर्चाका सांसद् आजको बैठकमा सहभागी भएकामा प्रशन्नता व्यक्त गर्दै उनले अविश्वासको प्रस्तावको हस्ताक्षरको लहरमा मोर्चाका सांसद्को नाम हुनुले संविधानलाई उनीहरुले स्वीकार गरेकाले आफू खुसीले गद्गद् भएको उल्लेख गरे। 

सो प्रस्तावमाथिको छलफल संसद्को शनिबार र आइतबारको बैठकमा जारी रहनेछ। अर्काे बैठक भोलि साउन ८ गते बिहान ११ बजे बस्नेछ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell