PahiloPost

Feb 27, 2025 | १५ फागुन २०८१

​अविश्वास प्रस्तावको छलफलमा ओलीको नाम उच्चारणै गरेनन् माधव नेपालले



पहिलोपोस्ट

​अविश्वास प्रस्तावको छलफलमा ओलीको नाम उच्चारणै गरेनन् माधव नेपालले

काठमाडौँ : संसदमा अघि बढेको अविश्वास प्रस्तावको छलफलमा सहभागी भएका एमाले वरिष्ठ नेता र पूर्व प्रधानमन्त्री माधव नेपालले उनले प्रधानमन्त्री केपी ओलीको नाम एक पटक पनि उच्चारण समेत गरेनन्। बरु कुटनीतिक रुपमा ओली गुट हावी भएको भन्दै आलोचना गर्न भ्याए।

उनले संसदमा राखेको विचारका केही अंश

•    मुलुकलाई सहमतिको यात्रा चाहिएको छ। प्रधानमन्त्रीको यो म्युजिकल चेयर चलिरहन्छ। यसमा रमाइरहने हो भने देश कता जान्छ? मेरो चिन्ता यो देशलाई यो अवस्थाबाट जोगाउने कसरी?

•    हिजो एउटा कार्यक्रममा गीत बजेको थियो- मेरो देश डुब्न लाग्यो किनारा लगाइदेऊ। हो त्यस्तै मान्छे चाहियो। देश किनारा लगाउने माझी चाहियो। त्यस्तो व्यक्ति फेला परेको छैन, जसले देशको बारेमा सोचोस्, राष्ट्रको बारेमा सोचोस्। 

•    (अघिल्ला वक्ता रमेश लेखकले नियुक्ति हुन एमाले हुनुपर्ने बनाएको भन्ने जवाफमा) यहाँ पार्टी पनि देखेको छैन। एमाले पनि छैन त्यहाँ। भए त म एमाले भनिहाल्थेँ। गुट छ त्यहाँ गुट। व्यक्ति होइन प्रवृति छ। देशपनि चल्दैन, सरकार पनि चल्दैन संस्थागत ढंगले।

•    प्रत्येक नेताले फोटा नभएकाहरुले फोटो झुण्ड्याउन सक्छन्। तर देशले पायो के? 

•    संसदबाट अविश्वासको प्रस्ताव आयो भनेपछि दुर्भाग्यपूर्ण भनेँ। पहिलो र दोश्रो पार्टी सँगै बस्न हुदैँन रे  भनियो। किन बस्न सक्दैन? 

•    यो सरकारले केही पनि गतिलो काम गरेन भनेर लेखियो। त्यस्तो काम गर्दा आफैँ माथि आइलाग्छ। आफै पनि नौ महिना बसेको हो नि। म बुझ्छु अप्ठेरोलाई अविश्वासको प्रस्ताव दर्ता गर्नु छ, राम्रो त लेख्नु नै छैन। राम्रो गरेकोलाइ पनि नराम्रो ढंगले गरेको विश्लेषण गरिएको छ। त्यस्तो किन भन्दा हाम्रो अविश्वास दुरी बढेर गएको छ। देशमा सहमति खाँचो छ। 

•    हामीले राष्ट्रिय सुरक्षा नीतिमा साझा सहमति गर्न र एक राय बनाउन सकेका छैनौँ। परराष्ट्र नीतिमा दस्तावेज पारित गर्न सकेका छैनौँ। अहिले त राष्ट्रिय विकास नीतिमा पनि दस्तावेज तयार गर्नुपर्ने आवश्यकता छ। 

•    कहाँ छ कमजोरी त्यसमा प्रवेश गरौँ। आत्मसमीक्षा गरौँ, पुरानो कुरा स्टप गरौँ, नयाँ प्रारम्भ गरौँ। यो देशलाई निकासको बाटोमा तीव्र गतिमा लैजानुपर्ने छ। 

•    हामीले आफ्नो सीमाना बुझ्न जरुरी छ। एकलकाँटेपनबाट बाहिर आउन जरुरी छ।  भौगोलिक अखण्डता र राष्ट्रियताको विषयमा कसैसामु शिर झुकाउनु हुँदैन। तर सबैलाई सँगै लिएर जाने कसरी? 

•    हामीले छलफल गर्दा सुन्यौँ, विगतमा कुनै सरकार थिएन जस्तो। म प्रधानमन्त्री भएर अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गरेको छु। २२ पार्टी समेटेर लिएर अन्तिमसम्म गएको छु। राजीनामा मैले पनि गरेको छु। तर प्रतिपक्षले ढालेको होइन म आफैँ ढालिएँ। 

•    प्रचण्डले भन्दा मेरो पनि नाम लिनुभएछ, शान्ति प्रक्रियाबारे मलाई खुसी लाग्यो। मलाई प्रधानमन्त्री भएर गौरव लाग्दैन, मलाई असल मानिस भएकोमा गर्व लाग्छ। 

•    यहाँको समस्या हामीले पोलिटिकल्ली डिल गर्नुपर्छ। हामीले संवैधानिक समस्या श्रृजना गर्नुहुन्न। संविधान कार्यान्वयन गर्नुपर्छ। 

•    मैले गम्भीर षड्यन्त्र भएको सुनेको छु संवैधानिक संकट निम्त्याउने। माघ ७ गते सम्म संविधान कार्यान्वयनको बाटो नबनाउने। यो स्थिति कोरिनु हुन्न। 

•    यसरी अविश्वास र विश्वासको प्रस्तावमा जानु हुदैँन। माओवादी केन्द्रले हतारो गर्यो । हतार गरेर समर्थन फिर्ता लियो। हतार गरेर अविश्वासको प्रस्ताव छिटो दर्ता गर्यो्। 

•    हामी कसैले पनि राष्ट्रिय हितमा गरेको कामको सकारात्मक मूल्याङ्कन गरौँ। 

​•    मिलनबिन्दु भनेको देश र जनताको हित। 

भिडियो हेर्नुस् - 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell